Skip to content

भोटेकोशी बाढीपीडितको उद्धारमा जुटौं, कटु वचन नबोलौंः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले तत्काल सहयोगमा जुट्न र सहयोग गर्न नसक्नेले पनि विपत्तिको समयमा कटु वचन नबोल्न आग्रह गरेका हुन्।

‘सहयोग गर्न सक्ने सहयोगमा जुटौं । सहयोग गर्न सक्दैनौं भने पनि कम्तीमा कटु वचन कसैले नबोलौं,’ उनले भनेका छन्।

केही दिनअघि रसुवा बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका थापाले फिल्डमा पुगेपछि मात्रै विपत्तिको वास्तविक अवस्था बुझ्न सकिने बताए।

उनले बाढीले ठूलो संख्यामा घरबार उजाडिनुका साथै परिवार र नागरिक प्रभावित भएको भन्दै क्षतिको यथार्थ आकलन गर्नसमेत कठिन रहेको बताए।

विपत्तिको समयमा सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै थापाले स्थानीय तह र प्रदेश सरकारले गरिरहेका उद्धार तथा राहतका कामको प्रशंसा पनि गरे।

उनले नेपाली कांग्रेसको टोलीले स्थलगत निरीक्षणका क्रममा देखेका अवस्था र प्रभावितका गुनासोलाई समेटेर सरकार तथा पार्टीले आगामी चरणमा गर्नुपर्ने कामबारे विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने जानकारी दिए।

‘पार्टीको तर्फबाट फिल्डमा गएर हामीले जे–जे कुरा देखेका छौं, त्यसका आधारमा सरकारले गर्नुपर्ने र नेक्स्ट फेजमा हामीले गर्नेलगायत विषय समेटेर डिटेल रिपोर्ट बनाएर सार्वजनिक गर्नेछौं,’ थापाले भनेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T