काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। बैंक, बीमा कम्पनी तथा डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत करोडौं रुपैयाँ सहयोग प्रदान गरेका छन्।
यसक्रममा लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सले ५१ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन्। बीमा क्षेत्रका यी संस्थाहरूले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले पनि ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। कम्पनीले विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःनिर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
यी चार संस्थाबाट मात्रै कुल ४ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम विपद् व्यवस्थापन तथा प्रभावित समुदायको राहतका लागि उपलब्ध भएको छ। हाल विभिन्न निजी क्षेत्रका संस्था, बैंक तथा वित्तीय संस्थाहरूले राहत कोषमा सहयोग गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन्।
विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्रको सक्रिय सहभागिता बढ्दै गएको छ।






प्रतिक्रिया दिनुहोस्