काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकले हेरिटेज होटल एण्ड स्वीट्स प्रालिको धितोमा रहेको पोखरास्थित घरजग्गा लिलाम बिक्री गर्ने भएका छन् । दुवै बैंकले सहवित्तीयकरणअन्तर्गत प्रवाह गरेको कर्जा पटक–पटकको ताकेता तथा कर्जा चुक्ता गर्न सार्वजनिक सूचना जारी गर्दा समेत भुक्तानी नभएपछि धितो लिलाम गर्न लागेका हुन् ।
बैंकले २०८३ भदौ १८ गते प्रकाशित गरेको ७ दिने अत्यन्त जरुरी सूचनामार्फत सम्बन्धित ऋणीलाई तोकिएको अवधिभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुर भुक्तानी गरी कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सो अवधिमा कर्जा चुक्ता नभए प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार ऋणी तथा सम्बन्धित जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार हेरिटेज होटल एण्ड स्वीट्स प्रालिको नाममा कास्कीमा दर्ता रहेका दुई कित्ता जग्गा लिलाममा राखिएको छ । पोखरा उपमहानगरपालिका–६ स्थित सिट नं.०९३०९१७२५ को कित्ता नम्बर १२६ मा १ हजार १०८.८५ वर्गमिटर र सिट नं. ०९३०९५००५ को कित्ता नम्बर २८ मा १ हजार १०४.४० वर्गमिटर जग्गा रहेको छ । दुवै जग्गामा रहेका घर तथा त्यसले चर्चेको सम्पूर्ण लिगलगापातसमेत बैंकको हिताधिकार हुने गरी धितोबन्धक राखिएको छ ।
यसरी लिलाममा जाने घरजग्गाको कुल क्षेत्रफल २ हजार २१३.२५ वर्गमिटर रहेको छ ।
हेरिटेज होटल एण्ड स्वीट्सको कर्जा असुलीका लागि यसअघि पनि बैंकले पटक–पटक सूचना जारी गरिसकेको छ। बैंकका अनुसार २०८२ कात्तिक १८ गते ३५ दिने सार्वजनिक सूचना, २०८२ पुस १७ गते १५ दिने धितो लिलाम बिक्री सूचना तथा २०८२ चैत १० गते ७ दिने लिलाम सूचना प्रकाशित गरिएको थियो ।
त्यसपछि २०८३ वैशाख ९ गते पुनः ७ दिने धितो लिलाम बिक्री सूचना प्रकाशित गरिएको थियो । तर कर्जा असुली नभएपछि बैंकले पुनः लिलाम बिक्री प्रक्रिया अघि बढाएको हो ।
लिलाममा सहभागी हुन इच्छुकले हिमालयन बैंकको न्युरोड शाखाबाट कार्यालय समयमा १ हजार रुपैयाँ तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम मिति भदौ २४ गते कार्यालय समयसम्म तोकिएको छ। प्राप्त बोलपत्र भदौ २६ गते दिउँसो २ बजे हिमालयन बैंकको न्युरोड शाखा, काठमाडौंमा खोलिनेछ ।
बैंकले तोकिएको मितिमा सम्पत्ति लिलाम बिक्री हुन नसकेमा अन्य व्यवस्थामार्फत बिक्री गर्न सक्ने वा प्रचलित कानुनअनुसार बैंक आफैंले सकार गर्न सक्ने जनाएको छ । धितो बिक्रीबाट पनि बैंकको सम्पूर्ण बक्यौता असुल नभएमा बाँकी रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
ऋणी हेरिटेज होटल एण्ड स्वीट्स प्रालि हो भने रविचन्द्र हमाल ठकुरी र संगीता हमाल ठकुरी सेयरधनी तथा व्यक्तिगत जमानीकर्ताका रूपमा उल्लेख गरिएका छन् ।






प्रतिक्रिया दिनुहोस्