Skip to content

‘पीडितलाई हियाउने अपराधी हुन्’, आफ्नै समर्थकलाई प्रधानमन्त्री बालेनको चेतावनी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बाढीपीडित नागरिकमाथि सामाजिक सञ्जालमा गालीगलौज, अपमानजनक टिप्पणी र हियाउने गतिविधिमा संलग्न जोसुकैलाई पनि कारबाही गरिने चेतावनी दिएका छन्।

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै फेसबुकमा सार्वजनिक गरेको सन्देशमा शाहले विपद्को समयमा पीडितमाथि थप मानसिक पीडा दिनेहरू अपराधी सरह रहेको बताएका हुन्।

“यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ,” प्रधानमन्त्री शाहले लेखेका छन्।

पछिल्ला दिनहरूमा बाढीमा परिवार, सम्पत्ति र आफन्त गुमाएका पीडितहरूमाथि सामाजिक सञ्जालमा विभिन्न किसिमका कटाक्ष र आलोचना भइरहेको बेला प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हो। सामाजिक सञ्जालमा पीडितलाई गाली गर्नेहरूमध्ये सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकसमेत रहेको चर्चा भइरहेका बेला शाहले अप्रत्यक्ष रूपमा आफ्नै समर्थकलाई समेत सचेत गराएका छन्।

शाहले आफन्त गुमाएकाहरूको आक्रोशलाई नकारात्मक रूपमा नभई असह्य पीडाको अभिव्यक्तिका रूपमा बुझ्न आग्रह गरेका छन्। “एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो,” उनले भनेका छन्।

प्रधानमन्त्री शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई राज्यले एक्लो नछाड्ने प्रतिबद्धता पनि जनाएका छन्। राहत, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा सुरक्षित आवासको व्यवस्थाका लागि सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ छ।

उनले विपद्पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै उनीहरूको आत्मबल बढाउनु सबै नागरिकको दायित्व भएको उल्लेख गरेका छन्। साथै, बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T