Skip to content

वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गर्ने गिरोहका पाँच जना पक्राउ

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूलाई डकैतीमा प्रयोग भएको सवारीसाधन तथा चोरीका सामानसहित भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार गत भदौ १८ गते राति करिब १२ बजे खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेका बेला नकाबधारी तीन जनाको समूहले घरको ढोका फुटाएर प्रवेश गरेको थियो।

उक्त समूहले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाएको र ज्यान मार्ने धम्की दिई नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूले वृद्ध दम्पतीले लगाएका गरगहना तथा घरमा रहेको नगद लुटेर फरार भएका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिन्धुली घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी–२ का ३२ वर्षीय दिर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापा दमक–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटा बेलाहारा–५ का ३८ वर्षीय दिपक भन्ने गुणराज विश्वकर्मालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूका साथबाट नगद, मोबाइल, मोटरसाइकल, बैंकसम्बन्धी कागजात, नागरिकता, राहदानी, बचत बुक, सुनजस्तो देखिने पहेँलो धातुका औँठी तथा रिङलगायतका सामान बरामद गरेको जनाएको छ।

पक्राउ परेका मध्ये सुमन जर्घा मगरको साथबाट २५ हजार रुपैयाँ नगद, रेडमि मोबाइल र बा.७३ प ८७१२ नम्बरको २२० सीसीको रातो–कालो मोटरसाइकल बरामद भएको छ। दिर्घराज मोक्तानको साथबाट ५२ हजार २०० रुपैयाँ नगदसहित विभिन्न कागजात तथा घटनामा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, पशुपति श्रेष्ठको साथबाट बा.७२ प ५५८ नम्बरको मोटरसाइकल, ६ हजार ४६० रुपैयाँ नगद, मोबाइल, बैंक खातामा रहेको रकमसम्बन्धी विवरण, बचत बुक, नागरिकता, बुद्धचित्त मालाका दाना, ढलौटको पानस, पुराना सिक्का र सुनजस्तो पहेँलो धातुको औँठी बरामद गरिएको छ।

प्रहरी अनुसन्धानबाट पशुपति श्रेष्ठको समूह रामेछापको खाँडादेवी–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको घटनामा समेत संलग्न रहेको खुलेको छ।

यस्तै, खाँडादेवी–३ की सुन्दरी श्रेष्ठको करिब २८/३० केजीको खसी तथा सोही वडाका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ केजीको बोका चोरी भएको घटनामा पनि पशुपति श्रेष्ठ समूहको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीले जाँच गर्दा पक्राउ परेका केही व्यक्तिहरू यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको देखिएको छ। दिर्घराज मोक्तानविरुद्ध २०७८ सालमा प्रहरीसँग विवाद गरी अभद्र व्यवहार गरेको मुद्दा चलेको तथा पशुपति श्रेष्ठसहितको समूहविरुद्ध २०८० सालमा काठमाडौंमा सुनको सिक्री लुटेको आरोपमा डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ। गुणराज विश्वकर्माविरुद्ध पनि २०८१ सालमा काठमाडौंको बौद्ध प्रहरी वृत्तबाट जुवासम्बन्धी कसूरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T