Skip to content

जेनजी सहिद परिवारद्वारा अक्षय गोल्याण सम्मानित, ‘सहिदहरूको बलिदानपछि अब देश बनाउने पालो हाम्रो’

काठमाडौं ।

जेनजी आन्दोलनका सहिद परिवारहरूको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा समाजले गोल्याणलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेको हो। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

अक्षय गोल्याणको नेतृत्वमा रहेको गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत जेनजी आन्दोलनका सहिद परिवारका सदस्यहरूलाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहयोग उपलब्ध गराउँदै आएको छ। आन्दोलनको एक महिनापछि २०८२ असोज २४ गते फाउण्डेशनले सहिदका सन्तानलाई कक्षा १२ सम्म शैक्षिकवृत्ति र बुवाआमालाई आजीवन स्वास्थ्य बीमा प्रदान गर्ने कार्यक्रम घोषणा गरेको थियो।

फाउण्डेशनका अनुसार हाल २२ जना सहिदका ३१ बालबालिकाले शैक्षिकवृत्ति प्राप्त गरिरहेका छन् भने २२ सहिदका ४३ जना बुवाआमाले वार्षिक १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा पाएका छन्। यस कार्यक्रमका लागि फाउण्डेशनले वार्षिक करिब साढे दुई करोड रुपैयाँ विनियोजन गर्दै आएको जनाएको छ।

सम्मान ग्रहणपछि बोल्दै अध्यक्ष गोल्याणले सहिद परिवारप्रति गरिएको प्रतिबद्धता कुनै अल्पकालीन कार्यक्रम नभई दीर्घकालीन जिम्मेवारी भएको बताए।

“यो आज गरेर भोलि बिर्सिने प्रतिबद्धता होइन। सहिदहरूको सम्मानमा उहाँहरूका सन्तान र बुवाआमाको सुरक्षित भविष्य सुनिश्चित गर्न हामी निरन्तर साथमा रहनेछौं,” उनले भने।

उनले जेनजी आन्दोलनपछि सहिद परिवार र उनीहरूका सन्तानको अवस्था नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै त्यसले आफूलाई थप जिम्मेवार बनाएको बताए। सहिदहरूले देखेको सुरक्षित, समृद्ध, शान्त र न्यायपूर्ण नेपालको सपना साकार पार्न सबै नेपालीले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

“हामीले सहिदहरूको बलिदान बिर्सेका छैनौं। देश निर्माण गर्ने जिम्मेवारी हरेक नेपालीको हो। सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब पालो हाम्रो हो,” गोल्याणले भने।

गोल्याण फाउण्डेशनले शैक्षिकवृत्ति योजनाअन्तर्गत प्रतिविद्यार्थी मासिक ४० हजार रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँसम्मको सहयोग प्रदान गरिन्छ। छात्रवृत्तिमा विद्यालय शुल्क, छात्रावास, यातायात, पुस्तक तथा स्टेशनरी, पोशाक, अतिरिक्त क्रियाकलापलगायतका सम्पूर्ण शैक्षिक खर्च समेटिएको फाउण्डेशनले जनाएको छ।

हाल छात्रवृत्ति प्राप्त बालबालिकाहरू काठमाडौं, ललितपुर, झापा, चितवन, पोखरा, बुटवल, सुनसरी र लहानका विभिन्न विद्यालयमा अध्ययनरत छन्। शैक्षिकवृत्ति प्राप्तमध्ये चितवनकी आकृति राईले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरिसकेकी छन् भने तीन जना बालबालिकाले सोही वर्ष विद्यालय शिक्षा सुरु गरेका छन्।

फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेका अनुसार छात्रवृत्तिमा नसमेटिएका सहिद परिवारका सदस्यहरूलाई स्वास्थ्य बीमामार्फत सहयोग गरिएको हो। स्वास्थ्य बीमाअन्तर्गत पहिलो वर्षमै करिब ८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भइसकेको छ। सबैभन्दा बढी कृतिबल्लभ पन्तको उपचारका लागि करिब ४ लाख रुपैयाँ भुक्तानी भएको फाउण्डेशनले जनाएको छ।

जेनजी आन्दोलनका सहिद परिवारको शिक्षा र स्वास्थ्य सुरक्षामा निजी क्षेत्रबाट गरिएको यो पहललाई समाजले उदाहरणीय योगदानका रूपमा मूल्यांकन गर्दै गोल्याणलाई सम्मान गरेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T