Skip to content

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५५ अर्ब निक्षेप उठाउँदै, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार बोलकबोलमार्फत ५६ दिनका लागि उक्त रकम निक्षेपका रूपमा उठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । बोलकबोल गर्दा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा मात्र आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेप संकलनमा सहभागी हुन पाउनेछन् । इच्छुक संस्थाले बुधबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनका लागि बोलकबोल अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा कर्जा मागको तुलनामा निक्षेप बढ्दा तथा अन्य माध्यमबाट प्रणालीमा तरलता थपिँदा बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम बढ्ने गर्छ ।

यस्तो अवस्थामा ब्याजदरमा अत्यधिक दबाब नपरोस् र प्रणालीमा आवश्यकभन्दा बढी तरलता नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले निक्षेप संकलनलगायतका मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T