काठमाडौं । नेपाल क्रिकेट लिग (एनपिएल) तेस्रो संस्करणमा आइपुग्दा नेपालकै सबैभन्दा ठूलो व्यावसायिक खेलकुद प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ ।
प्रशारण अधिकार, डिजिटल स्ट्रिमिङ, टिकटिङ तथा प्रायोजनमा देखिएको तीव्र प्रतिस्पर्धाले एनपिएलको आर्थिक आकारलाई नयाँ उचाइमा पुर्याएको हो ।
क्लब तथा प्रमुख प्रायोजकहरूसँग लगानीन्यूजले गरेको कुराकानीका आधारमा एनपिएलको भ्यालुएसन करिब १०० मिलियन अमेरिकी डलर अर्थात् झण्डै १५ अर्ब रुपैयाँ पुगेको आंकलन छ ।
नेपालमा कुनै खेलकुद प्रतियोगिताको औपचारिक भ्यालुएसन गर्ने र त्यसको अभिलेख प्रभावकारी रुपमा राख्ने प्रचलन छैन । जसले गर्दा एनपिएलको वास्तविक मूल्यांकन सार्वजनिक रूपमा उपलब्ध छैन । तर प्रशारण अधिकार, डिजिटल अधिकार, टिकट बिक्री, प्रायोजन तथा फ्रेन्चाइज टिमहरूमा भएको लगानीलाई आधार मान्दा एनपिएलले १५ अर्ब रुपैयाँको आर्थिक हैसियत हासिल गरेको आंकलन छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपिएलले छोटो अवधिमै व्यावसायिक खेलकुदको नयाँ मानक स्थापित गरेको छ । तेस्रो संस्करणका लागि प्रशारण अधिकारमा देखिएको प्रतिस्पर्धाले यसको आर्थिक मूल्यलाई थप बलियो बनाएको छ ।
दोस्रो संस्करणको विजेता टोली लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीका अनुसार एनपिएल अहिले केवल क्रिकेट प्रतियोगिता मात्र नभई ठूलो व्यावसायिक प्लेटफर्मका रूपमा विकसित हुँदै गएको छ ।
“प्रशारण अधिकारका लागि टेलिभिजन र ओटीटी प्लेटफर्महरूले कबोल गरेको रकमले नै एनपिएलको मूल्य कति तीव्र गतिमा बढिरहेको छ भन्ने देखाउँछ,” जिसीले लगानीन्यूजसँग भने, “नेपालमा अन्य देशमा जस्तो औपचारिक भ्यालुएसनको तथ्यांक उपलब्ध नभए पनि यसको आर्थिक आकार निरन्तर विस्तार भइरहेको स्पष्ट देखिन्छ ।”
यस वर्षको टेलिभिजन प्रशारण अधिकार हिमालयन टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँमा प्राप्त गरेको छ । गत वर्ष कान्तिपुर टेलिभिजनले ३ करोड रुपैयाँमा उक्त अधिकार लिएको थियो । अझ रोचक पक्ष के छ भने दोस्रो संस्करणका लागि हिमालयन टेलिभिजनले २ करोड ७१ लाख रुपैयाँ प्रस्ताव गरेको थियो । तर यसपटक अधिकार प्राप्त गर्न उसले झण्डै पाँच गुणा बढी रकम कबोल गरेको छ ।
प्रशारण अधिकारका लागि हिमालयन टेलिभिजन र कान्तिपुर टेलिभिजनबीच भएको प्रतिस्पर्धाले क्यानलाई उल्लेखनीय आर्थिक लाभ दिलाएको देखिन्छ । खेलकुद प्रतियोगिताको मूल्य वृद्धि गर्न प्रशारण अधिकारको प्रतिस्पर्धालाई सबैभन्दा महत्वपूर्ण आधार मानिन्छ ।
यस्तै, डिजिटल स्ट्रिमिङ अर्थात् ओटीटी अधिकार नेटटिभीले १८ करोड रुपैयाँमा प्राप्त गरेको छ। अघिल्लो संस्करणमा यो अधिकार डिसहोमसँग थियो। डिजिटल प्लेटफर्मको बढ्दो प्रभावका कारण ओटीटी अधिकारको मूल्यसमेत उल्लेखनीय रूपमा बढेको छ।
टिकटिङ अधिकारतर्फ लगातार दुई संस्करणसम्म हात पारेको आइएमई पे–खल्ती समूहलाई पछि पार्दै यस वर्ष इसेवाले ८५ लाख रुपैयाँमा अधिकार प्राप्त गरेको छ ।
टेलिभिजन प्रसारण, ओटीटी तथा टिकटिङ अधिकारबाट मात्र क्यानले हालसम्म ३३ करोड ५८ लाख रुपैयाँ आम्दानी सुनिश्चित गरिसकेको छ । यसमा मुख्य प्रायोजक, सह–प्रायोजक, विज्ञापन तथा अन्य व्यावसायिक साझेदारीबाट प्राप्त हुने रकम जोड्दा प्रतियोगिताको कुल आर्थिक आकार अझ ठूलो हुने देखिन्छ।
पहिलो संस्करणदेखि विभिन्न आर्थिक विवाद र पारदर्शितासम्बन्धी प्रश्नहरूको सामना गरेको एनपिएलले तेस्रो संस्करणमा भने तुलनात्मक रूपमा व्यवस्थित र प्रतिस्पर्धात्मक स्वरूप लिएको देखिएको छ । विशेषगरी प्रशारण अधिकार खुला प्रतिस्पर्धाबाट बिक्री गरिनु सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
एनपिएलका आठ वटै टोलीमा नेपालका प्रतिष्ठित व्यावसायिक घराना आबद्ध छन् । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्समा उद्योगपति तथा व्यवसायिक समूहहरूले करोडौं रुपैयाँ लगानी गरेका छन् । फ्रेन्चाइज मोडलमा सञ्चालन हुने यी टोलीहरूले खेलकुदलाई व्यवसायिक उद्योगका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
प्रशारण अधिकारमा बढ्दो प्रतिस्पर्धा, डिजिटल प्लेटफर्मको विस्तार, निजी क्षेत्रको लगानी र क्रिकेटप्रतिको जनआकर्षणलाई हेर्दा एनपिएल अब केवल खेल प्रतियोगिता मात्र नभई बहुआयामिक आर्थिक गतिविधिको केन्द्र बन्दै गएको छ । यही गतिमा व्यावसायिक विस्तार जारी रहने हो भने आगामी केही वर्षभित्र एनपिएल दक्षिण एसियाकै उदाउँदो क्रिकेट लिगहरूमध्ये एक बन्न सक्ने सम्भावना देखिएको छ।
एनपिएल को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट गरेको क्यानले जनाएको छ ।
क्यानका अनुसार छनोट भएका खेलाडीहरू आगामी अक्सन प्रक्रियामा सहभागी हुनेछन्। फ्रेन्चाइज टोलीहरूले आवश्यकताअनुसार यी खेलाडीमध्येबाट आफ्नो टोली निर्माण गर्नेछन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्स बनेको थियो। यसपटक दुवै टोलीसहित विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले पनि उपाधि दाबेदारी प्रस्तुत गर्नेछन् ।
अघिल्लो संस्करणको अक्सनमा लुम्बिनी लायन्सले सबैभन्दा धेरै ४४ लाख रुपैयाँ खर्च गरेको थियो। यस्तै काठमाडौं गोर्खाजले सबैभन्दा कम १७ लाख रुपैयाँ खर्च गरेको थियो ।
एनपिएल नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ। प्रतियोगिताले घरेलु खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्याउँदै आएको छ।
तेस्रो संस्करण नजिकिँदै जाँदा अक्सनमा छनोट भएका खेलाडीहरूको प्रदर्शन र टोलीहरूको रणनीतिप्रति क्रिकेट समर्थकहरूको चासो बढ्न थालेको छ ।






प्रतिक्रिया दिनुहोस्