Skip to content

एप्पलको पहिलो फोल्डेबल आईफोन ‘डुओ’ सार्वजनिक, मूल्य २ हजार डलरदेखि सुरु

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो इतिहासकै पहिलो फोल्डेबल आईफोन सार्वजनिक गरेको छ। कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले वार्षिक प्रोडक्ट लञ्च कार्यक्रममा ‘डुओ’ नामक फोल्डेबल आईफोन सार्वजनिक गरेका हुन्।

टिम कुकको स्थानमा हालै सीईओ बनेका टर्नसले सार्वजनिक गरेको डुओलाई एप्पलको पछिल्ला दुई दशकयताकै सबैभन्दा ठूलो डिजाइन परिवर्तनका रूपमा हेरिएको छ। पुस्तकझैँ खुल्ने डिजाइन रहेको यो डिभाइस एप्पलको अहिलेसम्मकै सबैभन्दा ठूलो तथा महँगो आईफोन बनेको छ।

अमेरिकी बजारमा डुओको प्रारम्भिक मूल्य १ हजार ९९९ डलर निर्धारण गरिएको छ भने उच्च संस्करणको मूल्य ३ हजार २०० डलरसम्म पुगेको छ।

एप्पलका अनुसार डुओको डिजाइन आईप्याडबाट प्रेरित छ। पूर्ण रूपमा खोल्दा यो सानो आईप्याडजस्तै देखिन्छ भने आधा मोड्दा चौडा स्क्रिन भएको आईफोनको अनुभव दिन्छ।

कार्यक्रममा बोल्दै टर्नसले अन्य फोल्डेबल स्मार्टफोनभन्दा फरक अनुभव दिने उद्देश्यका साथ डुओ विकास गरिएको बताए। उनका अनुसार बजारमा रहेका धेरै फोल्डेबल फोनहरू दुईवटा फोन जोडेर बनाइएका जस्ता देखिन्छन्, जसले ठूलो स्क्रिन भए पनि प्रयोगकर्तालाई सीमित अनुभव दिन्छ।

उनले डुओलाई “फोल्डेबल फोन प्रयोगको अनुभवलाई पुनःपरिभाषित गर्ने असाधारण प्रविधिहरूको परिणाम” भएको बताए।

डुओको विकासमा टर्नस स्वयं प्रत्यक्ष रूपमा संलग्न थिए। सीईओ नियुक्त हुनुअघि उनले एप्पलको हार्डवेयर विभागमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

प्रविधि विश्लेषक बेन वुडले टर्नसको पदोन्नति र फोल्डेबल आईफोनको सार्वजनिक कार्यक्रमबीचको समय मिलान संयोग नभएको बताए। उनका अनुसार एप्पलले सम्भवतः कम्पनीको सबैभन्दा ठूलो आईफोन लञ्चसँगै नयाँ नेतृत्वलाई पनि स्थापित गर्ने रणनीति अपनाएको हो।

यद्यपि विश्लेषकहरूले फोल्डेबल फोनको व्यावसायिक सफलतामाथि भने मिश्रित धारणा व्यक्त गरेका छन्। फोररेस्टरका विश्लेषक दीपांजन चटर्जीका अनुसार फोल्डेबल आईफोन ब्रान्डको प्रतिष्ठा बढाउने उत्पादन बन्न सक्ने भए पनि यसले ठूलो मात्रामा बिक्री वृद्धि गराउने निश्चित छैन।

हाल विश्व बजारमा स्यामसङ र ह्वावेजस्ता कम्पनीका फोल्डेबल स्मार्टफोनहरूको हिस्सा कुल स्मार्टफोन बिक्रीको करिब २ प्रतिशत मात्र रहेको छ। आगामी दशकमा एप्पलको प्रवेशपछि पनि फोल्डेबल स्मार्टफोनको बजार हिस्सा ४ प्रतिशत हाराहारी पुग्ने अनुमान गरिएको छ।

डुओसँगै एप्पलले आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स पनि सार्वजनिक गरेको छ। आईफोन १८ प्रोको प्रारम्भिक मूल्य १ हजार १९९ डलर र आईफोन १८ प्रो म्याक्सको १ हजार २९९ डलर तोकिएको छ।

यसैबीच कम्पनीले आफ्नो डिजिटल सहायक ‘सिरी’को नयाँ संस्करण ‘सिरी एआई’ पनि घोषणा गरेको छ। आईफोन १८ बाट उपलब्ध हुने यो प्रविधिले प्रयोगकर्ताको अनुमति अनुसार फोनभित्र रहेका सन्देश, इमेल तथा अन्य व्यक्तिगत जानकारीको विश्लेषण गरी प्रश्नको उत्तर दिन, आवश्यक जानकारी खोज्न र केही कार्य स्वतः सम्पन्न गर्न सक्नेछ।

एप्पलले सिरी एआईका अधिकांश सुविधा डिभाइसभित्रै सञ्चालन हुने दाबी गरेको छ। कम्पनीका अनुसार प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न विशेष ध्यान दिइएको छ र आवश्यक परेमा क्लाउडमा प्रयोग हुने डाटासमेत गोप्य रहने व्यवस्था गरिएको छ।

टर्नसले एआईसहितको नयाँ आईफोनलाई “बौद्धिक व्यक्तिगत केन्द्र” का रूपमा व्याख्या गर्दै प्रयोगकर्ताको गोपनीयता एप्पलको प्राथमिकता रहने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T