काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने अमेरिका जाने भ्रमण स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
‘संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा आगामी असोज ६ देखि १० गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरिएको छ’ उनले भने ।
सरकारले प्रशासनिकतर्फ दुई जना सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेको छ ।
सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। यस्तै सहसचिव उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।
यस्तै सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल(भारत अन्तर(सरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुन नेपाली वार्ताटोली गठन गर्ने निर्णय गरेको छ ।
बैठकले अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
बैठकले विभिन्न पाँच जिल्लाका गरिब घरपरिवारको सूची सरकारले स्वीकृत गरेको छ । ‘काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको हो ।
सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ । आयोगको अध्यक्षमा भक्तपुरका डा.हरिप्रसाद लम्साललाई नियुक्ति गरिएको छ ।
सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गरेको छ ।






प्रतिक्रिया दिनुहोस्