काठमाडौं । शुक्रबार बसेको अर्थसमितिको बैठकले सञ्चालक तथा कर्मचारीलाई अयोग्य बनाउने प्रावधान रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ को दफा १८ तत्काल संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।
बैठकले नेपाल राष्ट्र बैंक ऐनको दफा १००(२) को (क) अन्तर्गत दिइने चेतावनी वा नसिहतको सजायका कारण सञ्चालक, कर्मचारी तथा अन्य व्यक्तिलाई अयोग्य हुने व्यवस्था पुनरावलोकन गर्नुपर्ने निष्कर्ष निकालेको हो।
यसका लागि बाफिया ऐन २०७३ को दफा १८ संशोधन गर्न तत्काल प्रक्रिया अघि बढाउन अर्थमन्त्रीलाई निर्देशन दिइएको छ।
यसैबीच, नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी विधेयकको दफाबार छलफलसमेत सम्पन्न भएको छ। अब बस्ने समितिको बैठकमा विधेयकको प्रतिवेदनमाथि छलफल गरिनेछ। प्रतिवेदन पारित भएपछि विधेयक प्रतिनिधिसभामा पेश गर्ने प्रक्रिया अघि बढ्नेछ।
समितिले विधेयकमा नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था पनि कायम गरेको छ। यसअघि विधेयकमा उक्त व्यवस्था हटाइएको थियो।
प्रतिक्रिया दिनुहोस्