काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ब्याजदर घटेको र बैंकहरू कर्जा दिन तयार रहेको अवस्थामा समेत कर्जा प्रवाह हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले अहिले अर्थतन्त्रमा पुँजीको अभावभन्दा पनि बजारमा विश्वासको वातावरण आवश्यक रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले बैंक तथा वित्तीय संस्थामा कर्जा दिने क्षमता भए पनि बजारमा कर्जाको माग बढ्न नसकेको बताए। अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक सुशासन कायम गर्दै लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
उनले पछिल्ला केही वर्षमा नीतिगत तथा संस्थागत रूपमा देखिएको कुशासनबाट बाहिर निस्कने गरी सरकारले काम गरिरहेको बताए। आर्थिक गतिविधि बढाउन आवश्यक सुधारका नीति ल्याउने तयारीमा सरकार रहेको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले सहकारी क्षेत्रको समस्याले स्थानीय अर्थतन्त्रमा समेत असर परेको बताए। सहकारीको समस्या समाधानसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने गरी आवश्यक नीति ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
यस्तै, उनले घरजग्गाको कारोबारमा समेत सुस्तता आएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए। अर्थतन्त्रमा देखिएका अवरोध हटाएर निजी क्षेत्रको लगानी बढाउने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनले बताए।
सरकारले आफैं उद्योग सञ्चालन गर्नेभन्दा पनि सञ्चालनमा नरहेका तथा सरकारी स्वामित्वका उद्योगको ‘धुलो टकटक्याएर’ निजी क्षेत्रलाई दिने नीति लिएको वाग्लेले बताए। यस्ता उद्योगलाई अपरेसन लिजमा दिने तयारी भइरहेको उनको भनाइ छ।
सरकार सुधार गर्न र निजी क्षेत्रको कुरा सुन्न तयार रहेको बताउँदै उनले रिफर्म घोषणा गरेर मात्रै नहुने बताए। सुधारलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
उनले सरकारले १५ वटा ऐन खारेज गर्ने घोषणा गरे पनि नयाँ ऐन निर्माण गर्नुभन्दा पुराना ऐन खारेज गर्न झन् जटिलता रहेको बताए। त्यसका लागि आवश्यक काम भइरहेको उनको भनाइ छ।
सरकारले वैकल्पिक वित्त कोषमार्फत समेत काम गरिरहेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा लगानी र विश्वासको वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको बताए।






प्रतिक्रिया दिनुहोस्