काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले जीवनभर राज्यलाई कर तिर्दै आएका उद्योगी–व्यवसायी विपद्मा पर्दा राज्यबाट पाउने सुविधा र संरक्षणबारे प्रश्न उठाएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले भोटेकोसीमा आएको बाढीबाट उद्योगी–व्यवसायीको ठूलो क्षति भएको उल्लेख गर्दै विपद्मा परेका व्यवसायीलाई सामाजिक तथा आर्थिक सुरक्षाको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
उनले जीवनभर कर तिरेका व्यवसायी अहिले बाढीका कारण उद्योग तथा व्यवसाय ध्वस्त भएर सडकमा पुग्ने अवस्था आएको भन्दै उनीहरूले राज्यबाट के सुविधा पाउने भन्ने विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए।
‘जीवनभर कर तिर्ने उद्योगी–व्यवसायी विपद्मा पर्दा सामाजिक रूपमा के पाउँछन् रु’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
भोटेकोसीमा आएको बाढीबाट व्यवसायीहरू पीडित बनेको उल्लेख गर्दै श्रेष्ठले विपद्का बेला सरकारलाई सहयोग गर्ने निजी क्षेत्र नै अहिले पीडित अवस्थामा पुगेको बताए। बाढीका कारण सडकमा पुग्न बाध्य व्यवसायीलाई तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको उनको भनाइ छ।
श्रेष्ठले बाढीपीडित व्यवसायीलाई आवास कर्जा, बीमा, पुनर्कर्जा लगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग गरे। साथै क्षतिग्रस्त उद्योग तथा व्यवसायको पुनःस्थापनाका लागि निजी क्षेत्रले आफ्नो तर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।
उनले मुलुक रोजगारी र उपभोगका लागि विदेशी उत्पादनमा निर्भर हुँदै गएको भन्दै यसले नेपाललाई परनिर्भर बनाएको बताए। आयात हुने वस्तुमध्ये करिब ७० प्रतिशत वस्तु नेपालमै उत्पादन गर्न सकिने सम्भावनाबारे अध्ययन गरेर स्वदेशी उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।
श्रेष्ठले नेपालमा औद्योगिकीकरण कसरी तीव्र बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताए। जलविद्युत्लगायतका क्षेत्रमा लगानी बढाउने वातावरण बनाउन पनि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
सरकारले आगामी पाँच वर्षमा अर्थतन्त्रलाई १०० अर्बको स्तरमा पुर्याउने तथा रोजगारी बढाउने लक्ष्य अघि बढाउँदा निजी क्षेत्र त्यसमा साथ दिन तयार रहेको अध्यक्ष श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस्