काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै बजारको विकास र विस्तारका लागि १०–१२ बुँदे सुधारका कार्यक्रम ल्याउने बताएका छन् । पछिल्लो समय पुँजी बजार सुस्त बनेको उल्लेख गर्दै उनले विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बिग्रिएको अवस्थालाई थप बिग्रन नदिने गरी सरकारले काम गर्ने बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा बढेको पुँजी घरजग्गा र सेयर बजारमा केन्द्रित हुनुको सट्टा उत्पादनमूलक क्षेत्रमा परिचालन भएको भए नेपालको अर्थतन्त्र अझ बलियो हुने धारणा राखे ।
उनले पछिल्लो समय पुँजी बजारमा केही कमजोरी देखिएको र बजारमा अपेक्षित गति आउन नसकेको बताए । बजारलाई चलायमान बनाउन तथा लगानीकर्ताको विश्वास बढाउन आवश्यक नीतिगत सुधार गरिने उनको भनाइ छ।
‘विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बिग्रिएको अवस्थालाई थप बिगार्ने काम हुँदैन,’ अर्थमन्त्री वाग्लेले भने। पुँजी बजारको विकासका लागि सरकारले आवश्यक सुधारका कार्यक्रम अघि बढाउने उनले बताए।
अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारसँगै समग्र अर्थतन्त्र सुधारका लागि समेत आवश्यक नीतिगत पहल अघि बढाउने तयारी भइरहेको जानकारी दिए। उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन बढाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको उनले बताए।
उनले सहकारी क्षेत्रमा देखिएको समस्याले स्थानीय अर्थतन्त्रमा समेत असर परेको बताए। सहकारी क्षेत्रको समस्या समाधान नगर्दासम्म त्यसको प्रभाव स्थानीय आर्थिक गतिविधिमा परिरहने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले पछिल्लो समय घरजग्गाको कारोबारमा समेत सुस्तता आएको उल्लेख गर्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए। घरजग्गा, पुँजी बजारलगायत क्षेत्रमा देखिएको सुस्ततालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई उत्पादन र रोजगारी सिर्जनातर्फ केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।
सरकारले पुँजी बजारमा देखिएका समस्या पहिचान गरी सुधारका ठोस कार्यक्रम ल्याउने र अर्थतन्त्रमा निष्क्रिय रहेको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने वातावरण बनाउने तयारी गरिरहेको उनको भनाइ छ।






प्रतिक्रिया दिनुहोस्