Skip to content

आज हरितालिका तीज,पाशुपत परिसरमा भक्तजनको घुइँचो (तस्विरहरु)

काठमाडौं । आज भाद्र शुक्ल तृतीया । आज हरितालिका (तीज) पर्व मनाइँदै छ ।

आज तीज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति प्राप्ति हुने धार्मिक विश्वास छ । आज पशुपतिनाथ मन्दिरमा बिहानै देखि हिन्दु महिलाहरुको भिड रहेको छ । हरितालिका तिजका दिन पूजाअर्चना तथा दर्शन गर्न भक्तजन भिड लागेको हो ।

यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहानको समयमा भक्तजनले सहज रुपमा लाममा बसेर आराध्यदे भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन् । बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ । बिहानी पख भदौरे झरीका वावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ ।

तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ । दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ ।

हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लागेको छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ ।

तस्बिरः हरिराम भेटुवाल-रासस

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T