काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको बिक्री–वितरण साविककै मूल्यमा गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।
अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सञ्चालन भइसकेकाले ग्यास उद्योगहरूलाई वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता नरहेको जनाउँदै संघले असोज २ गते शुक्रबारदेखि २ हजार ६० रुपैयाँमा ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको हो ।
संघले भदौ १९ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ढुवानी भाडाबापत १०५ रुपैयाँ ३५ पैसा थप गरी कुल २ हजार १६५ रुपैयाँमा ग्यास बिक्री–वितरण गर्न अनुरोध गरेको थियो।
त्रिशूली नदीमा आएको बाढी कारण कृष्णभिरमा गएकाे पहिराेले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री–वितरण गर्दै आएका थिए ।
तर, हाल सडक सञ्चालनमा आएसँगै संघका अध्यक्ष दिवान चन्दले आफ्ना विक्रेताहरूलाई सोही अनुसार जानकारी गराई साविककै मूल्यमा ग्यास बिक्री गर्न अनुरोध गरेका हुन् ।






प्रतिक्रिया दिनुहोस्