काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा लगायतका जिल्लामा आएकोमा बाढीबाट प्रभावित बीमितलाई बीमा दाबी भुक्तानीमा राहत दिन नयाँ कार्यविधि सार्वजनिक गरेको छ ।
प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गर्दै प्रभावित बीमितको दाबी प्रक्रिया छिटो, सरल र पारदर्शी बनाउने व्यवस्था गरेको हो ।
प्राधिकरणको सञ्चालक समितिले असोज ८ गते कार्यविधि स्वीकृत गरेपछि यो कार्यान्वयनमा आएको हो । बीमा ऐन, २०७९ को दफा १७० तथा बीमा नियमावलीको नियम ९२(५) बमोजिम विशेष परिस्थितिलाई सम्बोधन गर्न कार्यविधि ल्याइएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले ल्याएको नयाँ कार्यविधिअनुसार सामान्य प्रकृतिका ५ लाख रुपैयाँसम्मका बीमा दाबीमा छुट्टै सर्भेयर खटाउनुपर्ने छैन । बीमकले आफ्नै कर्मचारीमार्फत क्षतिको निरीक्षण तथा आवश्यक प्रक्रिया पूरा गरी दाबी फर्छ्योट गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी, बाढीबाट क्षति भएका बीमितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले अनुमानित दायित्वको बढीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सर्भेयरको प्रारम्भिक प्रतिवेदन वा उपलब्ध प्रमाणका आधारमा बीमकले यस्तो पेश्की रकम उपलब्ध गराउनुपर्नेछ । पूर्ण रूपमा क्षति भएका सवारी साधनको हकमा समेत बीमांक वा बजार मूल्यको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
बाढीका कारण बीमा पोलिसी, बिल, रसिद, प्रहरी प्रतिवेदनलगायतका भौतिक कागजात नष्ट वा हराएको अवस्थामा पनि बीमितलाई दाबीबाट वञ्चित नगरिने भएको छ । उपलब्ध फोटो, भिडियो, बैंक विवरण, कर अभिलेख तथा सरकारी वा विद्युतीय प्रमाणलाई आधार बनाएर दाबी फर्छ्योट गर्न सकिने व्यवस्था कार्यविधिमा गरिएको छ ।
त्यस्तै, बाढीका कारण दाबीको प्रारम्भिक सूचना दिन तोकिएको सामान्य हदम्याद नाघेको अवस्थामा म्याद नाघेकै कारण मात्र दाबी अस्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ । बाढीमा परी बेपत्ता भएका व्यक्तिको हकमा अधिकारप्राप्त निकायको सिफारिस र हकवालाको स्वघोषणाका आधारमा बीमा दाबी भुक्तानी गर्न सकिनेछ ।
त्यसैगरी, बाढीमा परी मृत्यु भएका विदेशी नागरिकको हकमा सम्बन्धित दूतावासमार्फत नेपाली रुपैयाँमा बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।
बाढी प्रभावित बीमितले आफ्नो क्षतिको विवरण लिखित, मौखिक वा विद्युतीय माध्यमबाट बीमकसमक्ष पेश गर्न सक्नेछन् । यसले विपद्का कारण कार्यालय वा सम्बन्धित निकायसम्म तत्काल पुग्न नसक्ने बीमितलाई समेत दाबी प्रक्रियामा सहभागी हुन सहज बनाउनेछ ।
तर गलत वा झुट्टा विवरण पेश गरी बीमा दाबी भुक्तानी लिएको पाइएमा भने कानूनबमोजिम कारबाही हुने प्राधिकरणले जानकारी दिएको छ । त्यस्तो अवस्थामा बीमकले भुक्तानी भइसकेको रकमसमेत असुलउपर गर्न सक्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्