काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत विभिन्न पदका लागि मनोनयन दर्ता भएको छ। महाधिवेशनमा २९७ पदका लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
पदाधिकारीतर्फ वरिष्ठ उपसभापति र महिला उपसभापति पद भने निर्विरोध भएका छन्। विशेष महाधिवेशनबाट उपसभापति चुनिएका विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा तथा पुष्पा भुषाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
सभापति पदका लागि गगन थापा, किशोरसिंह राठोर र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ। राठोर त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हुँदा गगन सदस्य थिए भने खड्की सिद्धार्थ बनस्थली विद्यालयमा शिक्षक रहँदा गगन त्यहीँ अध्ययनरत थिए।
खुला उपसभापति पदका लागि डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।
समावेशी उपसभापति पदका लागि जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण चुनावी मैदानमा उत्रिएका छन्।
खुला महामन्त्री पदका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन्।
महिला महामन्त्री पदमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालबीच प्रतिस्पर्धा हुने भएको छ।









प्रतिक्रिया दिनुहोस्