Skip to content

काठमाडौं उपत्यकाका ८१ प्रतिशतले मानिसले भने– वायु प्रदूषण स्वास्थ्यका लागि ‘हानिकारक’देखि ‘अत्यन्त हानिकारक’सम्म छ

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश बासिन्दाले वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारक माने पनि वायुको गुणस्तरबारे जानकारी लिन वैज्ञानिक तथा आधिकारिक तथ्यांकको प्रयोग गर्नेको संख्या निकै न्यून रहेको पाइएको छ।

ताजा इनिसिएटिभ नेपालले काठमाडौं उपत्यकाका १,२०० बासिन्दामाझ गरेको नयाँ सर्वेक्षणले यस्तो अवस्था देखाएको हो। सर्वेक्षणअनुसार ८१.२ प्रतिशत उत्तरदाताले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि ‘हानिकारक’देखि ‘अत्यन्त हानिकारक’सम्म रहेको बताएका छन्। तर, वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशतले आधिकारिक तथ्यांक वा निगरानी प्रणालीको सट्टा गन्ध, दृश्यता र आँखामा हुने जलनजस्ता आफ्नै इन्द्रियजन्य अनुभवमा निर्भर हुने गरेका छन्।

सन् २०२६ मा स्थापना भएको ताजा इनिसिएटिभ नेपाल काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरणका लागि अनुसन्धान, वायु गुणस्तर निगरानी तथा प्रमाणमा आधारित समाधान प्रवद्र्धनमा केन्द्रित गैरनाफामूलक संस्था हो। संस्थाको शुभारम्भसँगै सर्वेक्षणका निष्कर्ष सार्वजनिक गरिएको हो।

सर्वेक्षणमा सहभागीमध्ये ५२.३ प्रतिशतले आफ्नो स्थानीय वायुको गुणस्तरलाई ‘खराब’देखि ‘अति खराब’सम्म रहेको बताएका छन्।

प्रमुख सहरी क्षेत्रमध्ये ललितपुरका बासिन्दामा वायु गुणस्तरप्रतिको नकारात्मक धारणा सबैभन्दा बढी देखिएको छ। ललितपुरमा ६०.९ प्रतिशत, काठमाडौंमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६ प्रतिशत उत्तरदाताले स्थानीय वायुको गुणस्तर खराब रहेको बताएका छन्। उत्तर काठमाडौंमा भने यस्तो धारणा राख्नेको संख्या ३५.९ प्रतिशत रहेको छ।

वायु गुणस्तर कसरी जाँच्ने भन्ने जानकारी शैक्षिक स्तरअनुसार उल्लेखनीय रूपमा फरक रहेको सर्वेक्षणले देखाएको छ।

प्राथमिक शिक्षा वा सोभन्दा कम शैक्षिक योग्यता भएका उत्तरदातामध्ये १०.८ प्रतिशतले मात्र वायु गुणस्तर जाँच्न जान्ने बताएका छन्। स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएकामा भने यस्तो दर ६३ प्रतिशत पुगेको छ।

युवा पुस्तामा डिजिटल माध्यमबाट वायु गुणस्तर निगरानी गर्ने प्रवृत्ति तुलनात्मक रूपमा बढी देखिएको छ। १८ देखि २४ वर्ष उमेर समूहका वायु गुणस्तर सक्रिय रूपमा निगरानी गर्ने उत्तरदातामध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने बताएका छन्। यद्यपि, यो संख्या उक्त उमेर समूहका सम्पूर्ण उत्तरदाताको क्रमशः १४.१ प्रतिशत र १० प्रतिशत मात्रै हो।

सर्वेक्षणमा सहभागी ९८.६ प्रतिशतले मोटर सवारीसाधन तथा यातायातबाट निस्कने धूवाँलाई वायु प्रदूषणको प्रमुख स्रोत मानेका छन्। त्यस्तै, ९४.८ प्रतिशतले सडक निर्माणबाट उत्पन्न धूलोलाई वायु प्रदूषणको महत्वपूर्ण कारणका रूपमा औंल्याएका छन्।

वायु प्रदूषण नियन्त्रणका लागि सरकारी तथा संस्थागत पहलप्रति पनि सर्वेक्षणमा सहभागीको उल्लेखनीय समर्थन देखिएको छ। ७९.९ प्रतिशतले सार्वजनिक यातायात विस्तार र विद्युतीय गतिशीलतालाई समर्थन गरेका छन् भने ७१.५ प्रतिशतले कडा धूलो नियन्त्रण तथा सहरी हरियाली प्रवद्र्धनको पक्षमा मत दिएका छन्।

तर, वायु प्रदूषण न्यूनीकरणका लागि भइरहेका सरकारी प्रयासप्रति ७०.४ प्रतिशत उत्तरदाता असन्तुष्ट देखिएका छन्।

वायु प्रदूषणबाट जोगिन ८२ प्रतिशत उत्तरदाताले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताएका छन्। तर, ४३.४ प्रतिशतले प्रदूषणबाट आफूलाई जोगाउन कुनै पनि व्यक्तिगत उपाय नअपनाउने बताएका छन्।

सर्वेक्षणले वायु प्रदूषणले काठमाडौं उपत्यका छाड्ने सोचमा समेत प्रभाव पारिरहेको संकेत गरेको छ। उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई त्यसको एउटा कारण बताएका छन्। आर्थिक दबाब तथा महँगीलाई भने ४७.८ प्रतिशतले कारणका रूपमा औंल्याएका छन्।

ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले सर्वेक्षणले वायु प्रदूषणसम्बन्धी जनचासो र भरपर्दो जानकारीबीच ठूलो खाडल रहेको देखाएको बताइन्।

“सर्वेक्षणको तथ्यांकले गम्भीर विच्छेद देखाएको छ। पाँचमध्ये चार बासिन्दाले हावा स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन्। तर, अधिकांश मानिस आफूले श्वास फेर्ने हावाको अवस्था बुझ्न वैज्ञानिक तथ्यांकभन्दा आफ्नै इन्द्रियमा भर पर्न बाध्य छन्,” उनले भनिन्।

गिरीका अनुसार उपत्यकाका बासिन्दाका लागि वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई थप पहुँचयोग्य, बुझ्न सकिने र प्रयोगयोग्य बनाउन संस्थाले काम गर्नेछ।

सर्वेक्षणका निष्कर्षका आधारमा ताजा इनिसिएटिभ नेपालले आगामी चरणमा काठमाडौं उपत्यकाभरि वायु गुणस्तरसम्बन्धी अनुसन्धान विस्तार गर्ने, पहुँचयोग्य डेटा प्लेटफर्म विकास गर्ने तथा वायु गुणस्तरसम्बन्धी जनचेतना र साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

संस्थाले भरपर्दो र सहज रूपमा बुझ्न सकिने वायु गुणस्तरसम्बन्धी जानकारी उपलब्ध गराई नागरिकलाई प्रदूषणको अवस्था बुझ्न, सचेत निर्णय लिन तथा वायु गुणस्तर सुधारका प्रयासमा अर्थपूर्ण रूपमा सहभागी हुन सक्षम बनाउने लक्ष्य राखेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima