Skip to content

वर्षौँदेखि बन्द जुट मिल चलाउने सरकारको तयारी, निजी क्षेत्रलाई लगानी गर्न अपिल 

nabil
global ime
काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको नेपालको पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इ. दीपक कुमार साहले मिललाई आधुनिक प्रविधिसहित पुनः सञ्चालन गर्न लगानीकर्ताका लागि आशयपत्र (ईओई) आह्वान गरेका छन् ।
विराटनगर जुट मिल लिमिटेडले मंसिर ९ गते सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा उद्योगको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न अपिल गरेको हो ।
मन्त्री साहले मन्त्रालयको नेतृत्व सम्हालेसँगै बन्द तथा रुग्ण उद्योगहरूको पुनरुत्थानलाई प्राथमिकतामा राख्दै जुट मिल सञ्चालनका लागि नीतिगत र प्रशासनिक प्रक्रिया अघि बढाएका हुन् । मन्त्रालयको समन्वय र नीतिगत सहजीकरणमा अघि बढाइएको यो प्रक्रियालाई नेपालको औद्योगिक क्षेत्र पुनर्जीवन गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
प्रस्तावित योजनाअनुसार जुट मिल पुनः सञ्चालनमा आएपछि दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ। उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरिएको छ ।
मिलको पुनः सञ्चालनका लागि विराटनगर र दमकमा रहेको कुल ६७ बिघा औद्योगिक जग्गा ३५ वर्षसम्मको दीर्घकालीन लिज वा साझेदारी अवधारणामा उपलब्ध गराउने योजना छ ।
लगानी आकर्षित गर्न सरकारले विशेष सुरक्षा व्यवस्था अघि सारेको छ। मिलका पुराना वित्तीय, प्रशासनिक तथा श्रमसम्बन्धी दायित्व व्यवस्थापनको जिम्मेवारी मिल व्यवस्थापनले नेपाल सरकारको सहयोगमा लिने व्यवस्था प्रस्ताव गरिएको छ । यस व्यवस्थाले नयाँ लगानीकर्तालाई विगतका ऋण तथा दायित्वको भारबाट अलग राख्नेछ ।
त्यस्तै, औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम मेसिनरी आयातमा भन्सार सहुलियत, लाभांश फिर्ता लैजान पाउने सुविधा तथा प्रारम्भिक वर्षहरूमा लिज भाडामा सहुलियत उपलब्ध गराउने योजना छ ।
सन् १९३६ अर्थात् विसं १९९३ मा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो आधुनिक उद्योग हो । राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी र विभिन्न आर्थिक समस्याका कारण पटक–पटक बन्द हुँदै आएको यो उद्योग पुनः सञ्चालनमा आए नेपालको औद्योगिक इतिहासमा नयाँ अध्याय थपिने अपेक्षा गरिएको छ ।
आशयपत्र पेस गर्ने समयसीमा समाप्त भएको एक महिनाभित्र योग्य रणनीतिक लगानीकर्ता छनोट गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने लक्ष्य राखिएको छ । वर्षौँदेखि बन्द रहेको ऐतिहासिक उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्ने सरकारको यो पहल सफल भए रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन, स्वदेशी कच्चापदार्थको उपयोग र औद्योगिक उत्पादन वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T