Skip to content

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ । बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ ।
डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो । तीमध्ये छ स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो ।
रामबजार, नासोँ गाउँपालिका-३ को खोत्रो तथा मनाङको कोतोलगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताए । विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो । बाढीपहिरोका कारण छ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुपरेको थियो ।
“नासोँ गाउँपालिका-३ स्थित खोत्रोमा माथिबाट खसेका ठूला ढुङ्गा बम ब्लास्टिङ गरी हटाएपछि सडक सञ्चालनमा ल्याइएको थियो । हाल सडक सञ्चालनमा रहे पनि विभिन्न स्थानमा मर्मत तथा स्तरोन्नति गर्नुपर्ने छ”, आयोजना प्रमुख सुवेदीले भने । बाढीपहिरोबाट क्षतिग्रस्त स्थानमा सडक सुधार गरी पक्की सडक निर्माण तथा बगाएका काठे पुलको स्थानमा पक्की पुल बनाउन रु एक अर्ब आवश्यक पर्ने अनुमान गरिएको उनले जानकारी दिए ।
सोहीअनुसार बजेट माग गर्दै केही दिनअघि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइएको सुवेदीले उल्लेख गर्नुभयो । हाल उपलब्ध स्रोतसाधनबाट सडकका विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नति भइरहेको उनले बताए । बाढीपहिरोपछि सडक खुलाउन आयोजना, स्थानीय तह तथा जलविद्युत् आयोजनाका डोजरलगायत उपकरण परिचालन गरिएको थियो ।
यसैगरी, तीन वर्षअघि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि तीन अर्ब लागत अनुमान गरिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिए । सडक कालोपत्र, आवश्यक स्थानमा ढलान तथा पक्की पुल निर्माणसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएकाले डिपीआरअनुसार बजेट माग गर्दै मन्त्रालयमा प्रस्ताव पठाइएको आयोजना उनले बताए ।
प्रमुख सुवेदीका अनुसार रु तीन अर्ब उपलब्ध भए सडकको समग्र स्तरोन्नतिसँगै बाढीपहिरोबाट क्षति पुगेका स्थानको सुधार तथा पुनर्निर्माणसमेत गर्न सकिनेछ । एक अर्ब उपलब्ध भए तत्काल क्षति पुगेका स्थानमा पक्की सडक तथा पुल निर्माण अघि बढाउन सकिने उनले बताए । बेँसीसहर-चामे सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख मार्ग हो । सडकको स्तरोन्नति तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणले यातायात आवागमन सहज बनाउनुका साथै स्थानीय बासिन्दा, पर्यटक र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima