काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा संकटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताएका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार बोल्दै उनले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताए । उनका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, कृत्रिम बुद्धिमत्ता (एआई) को सम्भावना र एसियाको आर्थिक गतिशीलताले आशा जगाए पनि मुद्रास्फीति, उच्च ऋण, युद्ध र जलवायु जोखिमले चिन्ता बढाएको छ ।
अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि विश्व बजारमा तेल तथा ग्यासको मूल्य बढेको छ । यसको प्रभाव विभिन्न देशमा पर्दा मुद्रास्फीति थप चर्किएको छ । विशेषगरी तेल आयातमा निर्भर न्यून आय भएका देश बढी प्रभावित भएको आईएमएफले जनाएको छ ।
“मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो,” जर्जिएभाले भने । उनले प्रभावित देशलाई आर्थिक वृद्धि र कमजोर वर्गको संरक्षणलाई प्राथमिकता दिन आग्रह गरे ।
उनका अनुसार न्यून आय भएका देशको सरकारी राजस्वमा ऋण भुक्तानीको हिस्सा पछिल्ला वर्षमा ८ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ ।
आईएमएफले आवश्यकताअनुसार ऋण पुनर्संरचना, आन्तरिक स्रोत परिचालन, अन्तर्राष्ट्रिय वित्तीय सहयोग तथा निजी लगानी प्रवद्र्धनमा सघाउने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्