काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस ) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायी रुपमा सञ्चालनमा ल्याइएको छ ।
बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्याएको थियो। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो । प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन । लाइन सञ्चालनमा आएसँगै उक्त आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोडिएको छ ।
स्थायी टावर निर्माण सम्पन्न भएपछि प्रसारण लाइनको दाना–राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउने छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यस प्रसारण लाइनको कुल लम्बाइ करिब १३० किलोमिटर छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्छ ।












प्रतिक्रिया दिनुहोस्