काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भए देखिनै सेयर लगानीकर्ता निकै उत्साहित थिए ।
अघिल्लो भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाई मत पाएपछि शाहको नेतृत्वमा सरकार बनेपछि पुँजी बजारमा उछाल आउने सबैको अपेक्षा थियो ।
लामो समयदेखि लाभकर लगायतका विषयमा अन्यौलमा रहेका लगानीकर्ता करिब २ तिहाइ मत पाएको सरकार पाएपछि उत्साहित थिए । साथै रास्वापले निर्वाचनको समयमा ल्याएको वाचापत्रमा उल्लेख भएका व्यवस्थाले पनि लगानीकर्ता उत्साहित बनेका थिए ।
बजारमा नीतिगत स्थिरता कायम हुने, पुँजी बजारले गति लिने र लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको थियो । तर, सरकार गठन भएको सात महिना बितिसक्दा पनि सेयर बजारमा अपेक्षित सुधार देखिएको छैन ।
सरकारले सेयर बजार बढाउन हर प्रयास गरिरहेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि पुँजी बजार सुधारका लागि भन्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ । सरकारले बजेटबाट नै पुँजीगत लाभकरमा देखिएको अन्यौलता अन्त्य गरेको छ ।
बजेटले दीर्घकालीन लगानीकर्ताले सेयर बिक्रीबाट भएको नाफामा ७.५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गर्यो । त्यो नै अन्तिम लाभकर हुने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दाबी गरेका थिए । पछि सरकारले लाभकरमा भारी कटौती गर्यो ।
भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार पुँजीगत लाभकरको नयाँ दर कायम गर्ने निर्णय गर्यो ।
असोज ५ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्न व्यवस्था गर्यो ।
लाभकरमा भारी कटौती गरेपछि बजारमा रातारात उछाल आउला भन्ने सरकारको सोचाइ थियो । तर बजारले सरकारलाई विश्वास गर्न सकेको छैन । बजारले सरकारलाई विश्वास गर्न नसकेको विभिन्न तथ्याङ्कले पुष्टी गरेको छ ।
सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर घटाए पनि त्यसअनुसार बजारमा उत्साह बढ्न सकेको छैन । चालु आर्थिक वर्षको ३ महिनामा सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ७५ करोड ६४ लाख १० हजार ७६७ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब २७ लाख २५ हजार ४४६ रुपैयाँ यस्तो कर संकलन भएको थियो ।
चालु आर्थिक वर्षको साउनमा ६२ करोड ४९ लाख ६५ हजार ३१५ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यस्तै भदौमा ६३ करोड २७ लाख ४६ हजार ५३० रुपैयाँ लाभकर संकलन भएको थियो । यता असोजमा भने पुँजीगत लाभकर घटेर ४९ करोड ८६ लाख ९८ हजार ९२१ रुपैयाँमा सीमित भएको छ । भदौको तुलनामा असोजमा पुँजीगत कर १३ करोड ४० लाख रुपैयाँभन्दा बढीले घटेको हो ।
सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर घटाएर लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिए पनि त्यसअनुसार बजारमा उत्साह बढ्न नसकेको जानकारहरू बताउँछन् ।












प्रतिक्रिया दिनुहोस्