काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय (हेड अफिस) निर्माण तथा सञ्चालनका लागि काठमाडौंको रिंगरोडभित्र जग्गा वा घरजग्गा खरिद गर्ने भएको छ ।
कम्पनीले यसका लागि इच्छुक जग्गाधनीसँग सिलबन्दी बोलपत्र माग गरेको छ । कम्पनीले घर तथा अन्य संरचना नभएको कम्तीमा २ रोपनी जग्गा वा घरसहितको कम्तीमा १.५ रोपनी जग्गा खरिद गर्ने जनाएको छ ।
खरिद गरिने जग्गामा कम्तीमा ६ मिटर चौडाइको कालोपत्रे सडक पहुँच हुनुपर्नेछ । साथै, जग्गाको साँधसिमाना स्पष्ट भएको, निजी स्वामित्वमा रहेको र कुनै पनि कानुनी विवाद तथा मोहीसम्बन्धी समस्या नभएको हुनुपर्नेछ ।
त्यस्तै, आवश्यक पूर्वाधार भएको जग्गालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । घरसहितको जग्गा भए बेसमेन्ट वा अन्डरग्राउन्ड पार्किङ सुविधा भएको संरचनालाई विशेष प्राथमिकता दिइनेछ ।
इच्छुक जग्गाधनीले स्वामित्वसम्बन्धी नोटरी प्रमाणित कागजात तथा स्थानीय तहबाट जारी आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा पेस गर्नुपर्नेछ ।
कम्पनीले मंसिर २२ गतेसम्म अपराह्न ४ बजेभित्र प्रस्ताव बुझाउन आग्रह गरेको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्