काठमाडौं । नेपालको पूर्वाधार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । तदनुसार डिसेम्बर ९ र १० मा आयोजना हुने सम्मेलनमा पूर्वाधार विकासका सम्भावना, लगानीका अवसर तथा नीतिगत सुधारका विषयमा छलफल गरिनेछ ।
‘बिल्डिङ फर अ रेसिलियन्ट फ्युचर’ अर्थात् बलियो, दिगो र उत्थानशील पूर्वाधार निर्माण भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले नेपालको समग्र आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको सभापतित्व पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गर्नेछन् ।
नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नयाँ कानुन तर्जुमा तथा विद्यमान कानुनमा सुधार गरिरहेको सन्दर्भमा सम्मेलनमा पूर्वाधार विकास र लगानीसँग सम्बन्धित कानुनी व्यवस्थाबारे गहन छलफल हुनेछ ।
सम्मेलनमा ६९ वटा विधेयकमार्फत कानुनी सुधार, लगानी तथा विकासका लागि कानुनी संरचनाको आधुनिकीकरण, राष्ट्रिय पूर्वाधार खाका र आगामी १० वर्षको विकास दृष्टिकोणलगायत विषयमा प्रस्तुति तथा छलफल गरिने आयोजकले जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा लगानीका लागि पहिचान गरिएका करिब तीन दर्जन पूर्वाधार परियोजना स्वदेशी तथा विदेशी लगानीकर्तामाझ प्रस्तुत गरिनेछ । हालसम्म २३ वटा परियोजना पहिचान भइसकेका छन् भने थप परियोजना छनोट गर्ने प्रक्रिया जारी रहेको छ ।
पहिचान गरिएका केही सम्भावित परियोजनामा लगानी सम्झौता (एमओयू) गर्ने तयारीसमेत गरिएको छ । यसले पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना विस्तार गर्न तथा परियोजना कार्यान्वयनका लागि लगानीकर्ता आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा छलफल हुनेछ । छलफलमा स्वदेशी तथा अन्तर्राष्ट्रिय विषयविज्ञ, सरकारी निकायका प्रतिनिधि र लगानीकर्ताहरूको सहभागिता रहनेछ ।
नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको नेपाल पूर्वाधार सम्मेलन यसपटक सरकार तथा निजी क्षेत्रका विभिन्न संस्थाको संयुक्त आयोजनामा हुन लागेको हो ।
सम्मेलनको संयुक्त आयोजकमा नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ, लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् ।
सम्मेलनले सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, सम्भावना र चुनौतीबारे साझा धारणा निर्माण गर्न तथा सहकार्य विस्तार गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास आयोजकले लिएको छ । साथै, पूर्वाधार क्षेत्रमा लगानीका नयाँ अवसर पहिचान गर्दै स्वदेशी तथा विदेशी पुँजी परिचालनमा सम्मेलनले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्