काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र महिला उद्यमी महासंघ नेपालको सहकार्यमा महिला उद्यमीहरूको नेतृत्व क्षमता तथा व्यक्तिगत विकास अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार काठमाडौंमा नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
‘आफूभित्रको नेतृत्व: उद्देश्य, शक्ति र व्यक्तिगत पहिचान’ विषयक उक्त कार्यशालामा आत्मचेतना, व्यक्तिगत क्षमता पहिचान, उद्देश्यअनुरूप नेतृत्व विकास तथा व्यावसायिक जीवनमा सकारात्मक प्रभाव सिर्जना गर्ने विषयमा विशेष जोड दिइएको थियो ।
कार्यशालाको सहजीकरण एलईसी ल तथा इकोनोमिक कोअपरेसन युर एसिया जीएमबीएचकी प्रबन्ध निर्देशक एवं जर्मनीको बर्लिनस्थित सिल्क रोड कनेक्ट जीएमबीएचकी बोर्ड सदस्य कुन्दुज काचिएभाले गरेका थिए । कार्यशाला सञ्चालनकै लागि उहाँ जर्मनीबाट नेपाल आएका थिए ।
कार्यशालामा सहभागी महिला उद्यमीहरूबिच व्यक्तिगत उद्देश्यको पहिचान, आफ्ना क्षमता तथा सम्भावनाको अधिकतम उपयोग र आत्मविश्वासका साथ नेतृत्व गर्ने विषयमा छलफल गरिएको थियो । साथै, व्यक्तिगत अनुभव, सोच र दृष्टिकोणले नेतृत्व शैली, निर्णय प्रक्रिया तथा व्यावसायिक सम्बन्धमा पार्ने प्रभावबारे समेत सहजीकरण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले उद्यमशीलताको सफलताका लागि व्यावसायिक तथा प्राविधिक ज्ञानसँगै आत्मविश्वास, प्रभावकारी सञ्चार, निर्णय क्षमता र नेतृत्व सीप पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । उनले महिला उद्यमीहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता विकासमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
सो अवसरमा महासंघका द्वितीय उपाध्यक्ष बसन्ती प्रधान तथा प्रथम उपाध्यक्ष सुनिता वैद्यले कार्यशालाको उद्देश्य र विषयवस्तुबारे जानकारी गराएका थिए । उनीहरूले महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासका लागि महासंघले विभिन्न क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
महिला उद्यमीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै उनीहरूलाई आफ्नो उद्देश्यप्रति स्पष्ट, सक्षम र प्रभावकारी नेतृत्वकर्ताका रूपमा स्थापित गर्न कार्यशालाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्