काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा महिलाको सहभागिता पुरुषको तुलनामा बढी भए पनि बीमा कम्पनीको नेतृत्व तहमा भने पुरुषकै वर्चस्व कायम रहेको एक अध्ययनले देखाएको छ। बीमालेख खरिदमा महिलाको उपस्थिति बलियो देखिको भएतापनि सञ्चालक समिति र कार्यकारी व्यवस्थापनमा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको एक प्रतिवेदनले बीमा क्षेत्रमा पहुँच र सहभागिताका हिसाबले महिला अगाडि देखिए पनि संस्थागत नेतृत्वमा लैंगिक असमानता कायमै रहेको देखाएको छ। अध्ययनमा देशका ३५ वटै इजाजतपत्र प्राप्त बीमा कम्पनी सहभागी थिए।
प्रतिवेदनअनुसार जीवन बीमा क्षेत्रका कुल बीमालेखधारीमध्ये ५७ प्रतिशत र बीमित व्यक्तिमध्ये ५८ प्रतिशत महिला छन्। लघु जीवन बीमामा महिलाको सहभागिता अझ बढी छ। यस क्षेत्रमा बीमालेखधारी र बीमित दुवैमा महिलाको हिस्सा ६२ प्रतिशत रहेको छ।
यद्यपि, बीमामा महिलाको सहभागिता बढी भए पनि बीमाशुल्क भुक्तानीमा भने पुरुषको योगदान तुलनात्मक रूपमा दोब्बर देखिएको छ। जीवन बीमामा पुरुषले औसत ४२ हजार ५९२ रुपैयाँ बीमाशुल्क तिर्दा महिलाले २१ हजार ५४ रुपैयाँ मात्र तिर्ने गरेका छन्। त्यस्तै, दाबी दर्ता गर्ने दर पुरुषमा ३.८ प्रतिशत र महिलामा १.८ प्रतिशत रहेको छ।
निर्जीवन बीमामा भने महिलाको सहभागिता तुलनात्मक रूपमा कमजोर छ। दुर्घटना तथा स्वास्थ्य बीमाका बीमितमध्ये ५३ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला छन्। साना व्यवसाय लक्षित लघु निर्जीवन बीमामा पनि बीमालेखधारीमध्ये ५९ प्रतिशत र बीमितमध्ये ६६ प्रतिशत पुरुष रहेका छन्।
बीमा कम्पनीको नेतृत्व तहमा लैंगिक असमानता अझ स्पष्ट देखिएको छ। निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिमा ८१ प्रतिशत पुरुषको प्रतिनिधित्व छ। त्यस्तै, प्रमुख कार्यकारी अधिकृतसहितको कार्यकारी व्यवस्थापन तहमा पुरुषको हिस्सा ७८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
तर, बीमा अभिकर्ताको क्षेत्रमा महिलाको सहभागिता तुलनात्मक रूपमा राम्रो छ। लघु जीवन बीमामा महिला अभिकर्ताको हिस्सा ४६ प्रतिशत रहेको छ । अध्ययनले बीमा क्षेत्रमा समान अवसरको नीतिगत व्यवस्था भए पनि त्यसको प्रभाव नेतृत्व र पारिश्रमिकमा पर्याप्त रूपमा देखिन नसकेको औंल्याएको छ।









प्रतिक्रिया दिनुहोस्