Skip to content

भन्सारदेखि अन्तःशुल्कसम्म नीतिगत फेरबदल गर्ने अर्थमन्त्री डा.वाग्लेको घोषणा, ल्याउँदै छन् ‘कर सुधारमा २.०’ नीति 

nabil
global ime
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत कर प्रणालीमा थप नीतिगत सुधार गर्ने घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय कर दिवस २०८३ का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले भन्सारदेखि अन्तःशुल्कसम्मका क्षेत्रमा व्यापक नीतिगत परिवर्तन गर्ने तयारी भइरहेको जानकारी दिँदै  ‘कर सुधार २.०’ नीति ल्याउने बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षमा करका दर र दायरा दुवैमा ऐतिहासिक सुधार गरिएको उल्लेख गरे । आगामी आर्थिक वर्षको बजेटमा त्यसलाई थप निरन्तरता दिँदै कर प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाइने उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले कर प्रणालीलाई सुशासनयुक्त, पारदर्शी र करदातामैत्री बनाउने सरकारको नीति रहेको पनि स्पष्ट पारे । कर विवादको निरूपण र कर अनुपालन बढाउन सरकारले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै उनले विवाद समाधानका लागि विशेष अवसर उपलब्ध गराइएको जानकारी दिए ।
कर विवाद समाधानका लागि १ प्रतिशत रकम मात्रै भुक्तानी गरेर विवादमुक्त हुन सकिने व्यवस्था गरिएको भन्दै उनले व्यवसायीलाई आगामी पुस मसान्तभित्र उक्त अवसरको लाभ लिन आग्रह गरे । ‘कर न्याय र इमानदारिताका विषयमा सरकार प्रष्ट छ । व्यवसायीहरूले यो अवसरको फाइदा उठाउनुहोस्,’ उनले भने ।
सरकारले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए । उक्त लक्ष्य हासिल गर्न कर प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने र करदातालाई स्वेच्छिक कर अनुपालनका लागि प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।
उनले मुलुकमा अहिले लगानीका लागि अनुकूल वातावरण बनेको दाबी गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न आग्रह गरे । करका दर घटाइएको, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, विदेशी विनिमय सञ्चिति सहज अवस्थामा रहेको र स्थिर सरकार भएकाले लगानीका लागि उपयुक्त वातावरण बनेको उनले बताए ।
‘लगानीको माहोल बनेको छ । कर घटेको छ, बैंकमा प्रशस्त पैसा छ, विदेशी विनिमय सञ्चिति पर्याप्त छ । स्थिर सरकार छ । यस्तो अनुकूल अवस्था बिरलै पाइन्छ,’ उनले भने, ‘सरकारले सबै अवस्था सहज बनाउँदा पनि निजी क्षेत्र किन डराइरहेको छ ?’
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T