Skip to content

सुनको मूल्य ऐतिहासिक रेकर्डबाट २७.६७ प्रतिशतले घट्यो, चाँदीमा लगानी गर्नेले गुमाए ५८ प्रतिशतभन्दा बढी

बजारमा खरिदकर्ता बढ्दा सुन–चाँदीको अभाव

nabil
global ime

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको छ । पछिल्लो १० महिनाको अवधिमा नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्च बिन्दुबाट २७.६७ प्रतिशतले घटेको छ भने चाँदीको मूल्यमा ५८ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार गत माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर मंसिर ४ गतेसम्म आइपुग्दा २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । यस अवधिमा सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँले घटेको हो ।

सुनको तुलनामा चाँदीको मूल्यमा अझ ठूलो गिरावट देखिएको छ । गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको चाँदीको मूल्य मंसिर ४ गतेसम्म घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ । यसअनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ३९५ रुपैयाँले घटेको छ । उच्च मूल्यमा चाँदी खरिद गरेका लगानीकर्ताले यस अवधिमा ५८.५६ प्रतिशतभन्दा बढी मूल्य गुमाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढावले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको नेपाल सुन–चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि बढ्ने र घट्दा घट्ने गरेको उनको भनाइ छ ।

मूल्यमा आएको गिरावटसँगै बजारमा सुन–चाँदी खरिद गर्ने ग्राहकको चाप बढेको व्यवसायीहरूको भनाइ छ । मूल्य घटेपछि उपभोक्ता खरिदका लागि आकर्षित हुँदा बजारमा माग बढेको र सोही कारण कतिपय अवस्थामा सुन–चाँदीको अभावसमेत देखिन थालेको छ ।

‘मंसिर महिना बिहेको सिजनको महिना हो । जसको कारण बजारमा सुन–चाँदीको माग उच्च हुन्छ । अझ सस्तो भएर माग बढेको कारण व्यवसायीलाई माग धान्नै सकिएको छैन ।’ एक व्यवसायी भन्छन् ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०२५ मा सुनको मूल्यले ५३ पटक नयाँ कीर्तिमान कायम गर्दै तीव्र वृद्धि गरेको थियो । त्यसपछि जनवरी २८ मा सुनको मूल्य प्रतिऔँस ५,५८९.३८ अमेरिकी डलरको ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो ।

तर त्यसको केही समयपछि सुनको मूल्यमा लगभग त्यत्तिकै ऐतिहासिक गिरावट आयो। बिहीबार सुनको मूल्य प्रतिऔँस ३५६९.१३ अमेरिकी डलरभन्दा तल झरेको छ । यो मूल्य सुनको उच्चतम विन्दुभन्दा करिब एक तिहाइ कम हो।

यसकारण घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा केही समययता सुनको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। केही समयअघि निरन्तर नयाँ कीर्तिमान कायम गर्दै ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य अहिले घट्न थालेको छ । सुनको मूल्यमा आएको गिरावटका पछाडि अमेरिकी डलरको मजबुतदेखि लगानीकर्ताहरूको बदलिँदो मनोविज्ञानसम्मका विभिन्न कारण जिम्मेवार देखिएको शाक्य बताउँछन् ।

सुनको अन्तर्राष्ट्रिय मूल्य अमेरिकी डलरमा निर्धारण हुने भएकाले डलर बलियो हुँदा अन्य देशका लगानीकर्ताका लागि सुन खरिद महँगो पर्न जान्छ । यसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटाउछ र मूल्य घट्ने उनकाे बुझाइ छ ।

अमेरिकाको केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले बैंक निक्षेपको ब्याजदर बढाउन सक्ने संकेत गरेपछि पनि सुनको मूल्यमा गिरावट आएको हो ।

सुनको मूल्य छोटो समयमा अत्यधिक बढेपछि पहिले नै सुन खरिद गरेका लगानीकर्ताहरूले आफ्नो नाफा सुरक्षित गर्न सुन बिक्री गर्न थाल्छन्। धेरै लगानीकर्ताले एकै समयमा बिक्री गर्दा बजारमा सुनको आपूर्ति बढ्छ र मूल्यमा गिरावट आउँछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T