काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ जलवायु कार्य सप्ताह लाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का सांसदसमेत रहेका श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजनाहरू सार्वजनिक गरेका हुन् ।
सम्बोधनका क्रममा श्रेष्ठले आफ्नो बाल्यकाल स्मरण गर्दै विष्णुमती र बागमती नदीको सफा पानी पिएको, नुहाएको र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीको चिरबिरबीच हुर्किएको अनुभव सुनाए । तर, आफ्नै जीवनकालमा ती नदीहरू प्रदूषित र सङ्कटग्रस्त बन्दै गएको देख्दा आफू निकै भावुक हुने गरेको उनले बताए ।
पछिल्ला केही दशकमा जथाभाबी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको, धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदा कालो हुँदै गएको र वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम भयावह बनेको उनले उल्लेख गरे।
जलवायु परिवर्तनले संकट अझ थपेको बताउँदै श्रेष्ठले मात्र ४६ दिनको अवधिमा तीनवटा नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए। तीव्र गतिमा सहरीकरण भइरहेका देशका अन्य नगरपालिकाहरूलाई काठमाडौँको गल्तीबाट पाठ सिकेर बेलैमा नदी, पोखरी र खुला जमिन जोगाउन उनले आग्रह गरे ।
साथै, पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकोमा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षहरूको उनले प्रशंसा गरे ।
सम्बोधनमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले सरकारका तर्फबाट मुख्य प्रतिबद्धता र योजनाहरू पनि सुनाए । उनकाअनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली बनाइनेछ । बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकुन् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गरिनेछ। साथै, झुन्डिएका हिमचट्टान र पग्लिँदो हिमनदीको अनुगमनमा विज्ञ, वैज्ञानिक, अभियन्ता र युवाहरूलाई जोडिनेछ।
यसैगरी प्रकृतिमा आधारित नदी संरक्षण गरिनेछ । नदीलाई कडा कङ्क्रिटको पर्खालभित्र थुन्नुको साटो प्राकृतिक रूपमै फैलिन र खुम्चिन दिइनेछ। विष्णुद्वार र वाग्द्वारका मुहान तथा नागार्जुन र गोदावरी क्षेत्र जोगाइनेछ। नदीले प्रशासनिक सिमाना नचिन्ने भएकाले जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौँ महानगर तथा नदी प्रणालीसँग जोडिएका वरपरका १७ वटा नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि नै काम सुरु गर्नेछन्।
यसैगरी सहर शीतल बनाउने र भूमिगत पानी पुनर्भरण गरिनेछ । घर(घरमा आकाशे पानी सङ्कलन, पानी सोस्ने पैदलमार्ग, खुला ठाउँ र मुख्य सडक किनारमा रैथाने रूख रोप्ने कार्यका लागि महानगरले स्थान पहिचान गरेपछि सङ्घीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ।
यसैगरी वायु प्रदूषण नियन्त्रण गरिनेछ । राष्ट्रिय निर्धारित योगदानअनुरूप विद्युतीय सार्वजनिक यातायात, स्वच्छ इँटाभट्टा र फोहोर दहन नियन्त्रणमा जोड दिइनेछ। वायु गुणस्तरको तथ्याङ्क नागरिकका लागि खुला राखिनेछ र जाडो तथा तुवाँलो सुरु हुनुअगावै (अक्टोबरअघि नै) प्रदूषण नियन्त्रणका तयारी पूरा गरिनेछ।
यसैगरी फोहोरबाट ऊर्जा र जलवायु वित्त परिचालन गरिनेछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौँ महानगरबीच भएको समझदारी तथा टेकु बायोग्यास प्लान्टलाई छिटो सञ्चालनमा ल्याउन घरबाटै फोहोर वर्गीकरण गर्न आह्वान गरिएको छ।
साथै, ‘जलवायु वित्त शिखर सम्मेलन’ मार्फत हरित बन्ड र जलवायु कोष भित्र्याउन नगर विकास कोषसँग मिलेर काम गरिने मन्त्री श्रेष्ठले बताए । भोटेकोशीको विपद्पछि पुनर्लाभका लागि छिटो परिचालन हुने कोषको आवश्यकता महसुस गरिएको उनले बताए ।
नवीन प्रविधिमा युवाहरूको सक्रियताको प्रशंसा गर्दै श्रेष्ठले कक्षा १२ का विद्यार्थीहरूले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउने सञ्चार प्रणाली बनाएको उदाहरण दिए । युवाहरूको प्रविधि र ज्येष्ठ नागरिकहरूको परम्परागत जलप्रणालीको ज्ञानलाई जोडेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
जलवायु न्यायको प्रसङ्ग उठाउँदै श्रेष्ठले विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि हिमनदी पग्लिने र बाढी–पहिरोको मार नेपालीले भोग्नुपरेको बताए। नदी किनारका बासिन्दासँगै बोल्न नसक्ने नदी, मुहान, रूख, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान जोगाउनु नै साँचो न्याय भएको उनको भनाइ थियो।
सम्बोधनको अन्त्यमा श्रेष्ठले रूखै–रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती–विष्णुमती करिडोर, काठमाडौँ वरीपरीका जंगल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना प्रस्तुत गरेका छन् ।
पार्कमा बुवा–आमा ढुक्कले घाम ताप्ने, चोकमा बालबालिका सुरक्षित खेल्ने र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्रहरू फस्टाउने सुन्दर काठमाडौँ सबै मिलेर निर्माण गर्न उनले आह्वान गरे।
प्रतिक्रिया दिनुहोस्