काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक १.८३ प्रतिशत बढेको हो । यसैगरी,सेन्सेटिभ इण्डेक्स ८.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ।
यसैगरी, आइतबार ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बुधबार ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार कारोबार रकममा पनि उल्लेखित सुधार देखिएको हो ।
आज कारोबारमा आएको १३ वटै उपसमूहहरू बढेका छन् । आज फाइनान्स उपसमूह, विकास बैंक उपसमूह र अन्य उपसमूहतर्फको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ । आज ६ उपसमूहको सेयर मूल्य १ प्रतिशतभन्दा धेरै बढेको छ भने बाँकी उपसमूहको सेयर मूल्य १ प्रतिशतभन्दा कम बढेको हो ।
आज कारोबारमा आएको मीड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशत बढेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज २७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज मञ्जुश्री फाइनान्सको करिब साढे २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।








प्रतिक्रिया दिनुहोस्