काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुधबार एकै दिन चार फरक–फरक वित्तीय उपकरणहरूको निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले माघ २१ गते बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद सेयर, सानिमा बैंकको अग्राधिकार सेयर, आइसिएफसी फाइनान्सको ऋणपत्र र गरिमा क्यापिटलको सामूहिक लगानी योजनालाई निष्कासन स्वीकृति दिएको हो ।
बोर्डले बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । यस कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।
त्यसैगरी सानिमा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा नयाँ उपकरणका रूपमा ‘८.२५ प्रतिशत सानिमा अविमोच्य सञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने स्वीकृति पाएको छ। बैंकले १०० रुपैयाँ अंकित मूल्यका २ करोड कित्ता अर्थात् २ अर्ब रुपैयाँ बराबरका सेयर परिपत्र विधिबाट बिक्री गर्नेछ। यसमा लगानीकर्ताले वार्षिक ८.२५ प्रतिशत लाभांश प्राप्त गर्नेछन् र यसको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
आइसिएफसी फाइनान्स लिमिटेडले ‘८ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८९’ निष्कासन गर्न अनुमति पाएको छ। सात वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। फाइनान्सले १ हजार रुपैयाँ अकिंत मूल्यका ५ लाख कित्ता अर्थात् ५० करोड रुपैयाँ बराबरका ऋणपत्र जारी गर्नेछ जसमा २ लाख कित्ता सर्वसाधारणका लागि र ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। यसको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
त्यसैगरी गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’ नामक खुलामुखी सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति पाएको छ। १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको योजना स्वीकृत भएको हो र यसको व्यवस्थापक तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड स्वयं रहेको छ।












प्रतिक्रिया दिनुहोस्