Skip to content

महानगरको स्मार्ट सेवा विस्तार-जग्गा सम्बन्धी काम अब नागरिककै नजिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले भू–सेवा तथा भू–सूचना प्रणालीलाई वडा तहबाटै उपलब्ध गराउने उद्देश्यले १० वटा वडामा नमूना कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ४७ औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेश गरेको प्रस्तावमा छलफलपछि वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा नमूना कार्यक्रम सञ्चालन गर्ने सहमति गरिएको हो । कार्यक्रमबाट प्राप्त अनुभवका आधारमा मानव स्रोत, कार्यकक्ष तथा उपकरण व्यवस्थापन गर्दै अन्य वडामा क्रमशः सेवा विस्तार गरिने महानगरपालिकाले जनाएको छ ।

यस कार्यक्रममार्फत चारकिल्ला तथा घरबाटो शिफारिससँगै भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा शिफारिस, कर तथा राजस्व सेवा लगायतका काम वडा कार्यालयबाटै उपलब्ध हुनेछन् । साथै नागरिक परामर्श, गुनासो सहजीकरण, सेवाग्राहीको वायोमेट्रिक विवरण संकलन तथा सम्पत्ति रोक्का–फुकुवा सम्बन्धी अभिलेख व्यवस्थापन पनि वडा तहबाटै सञ्चालन गरिनेछ ।

बैठकले वडा नं. २७ भोटाहिटीस्थित नेपाल प्रहरी साइबर ब्युरो रहेको भवन महानगरपालिकाले प्रयोग गर्ने सहमति जनाएको छ । साथै रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखाको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न सहमति प्रदान गरिएको छ । त्यस्तै, साविक वडा नं. २८ तथा हाल वडा नं. २५ बाढ्गेमुढाको जग्गा सम्बन्धी मुद्दामा महानगरपालिकाको पक्षमा अदालतबाट फैसला आएपछि उपभोग तथा व्यवस्थापनका लागि नेपाल सरकारसँग अनुमति माग्ने निर्णय गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त मूल्याङ्कन अङ्कको अध्ययन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छिन । साथै वडा नं. २२ मा निर्माण सम्पन्न ‘सांस्कृतिक द्यः छेँ’ सञ्चालन सम्बन्धी अध्ययनका लागि वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनलाई जिम्मेवारी दिइएको छ ।

बैठकमा प्रशासन, स्वास्थ्य र सार्वजनिक निर्माण क्षेत्रसँग सम्बन्धित १० प्रस्ताव तथा विविधका २ विषयमाथि छलफल गरिएको थियो । सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रमबाट उत्पन्न अन्यौल हटाउनुपर्ने, सरसफाइका लागि जनशक्ति पूर्ति, तार व्यवस्थापन, बाढी नियन्त्रण पूर्वतयारी, जेष्ठ नागरिक सेवा विस्तार, सहकारी समस्या समाधान प्रणाली निर्माण तथा सडक बत्ती योजना कार्यान्वयनमा ल्याउनुपर्ने लगायत विषय उठाएका थिए ।

यसैबीच वडा नं. २२ का पूर्व वडाध्यक्ष माणिकरत्न स्थापित र काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको निधनप्रति मौन धारण गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life