काठमाडौं । निलम्बनमा परेको भृकुटी स्टक ब्रोकरले लगानीकर्तालाई ५ अर्बभन्दा धेरै रकम तिर्न बाँकी रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जानकारी दिएको छ। व्यवसायी दिपक भट्टको सेयर कारोबार गरेको ब्रोकर भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमतिपत्र सेबोनले निलम्बन गरेको हो।
बोर्डका अनुसार कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३१ विपरीत ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितो (कोल्याट्रल) वापतको रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको पाइएको छ।
यसैगरी, सोही नियमावलीको उपनियम (२) तथा धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ का विनियम १३, १६ र १७ उल्लंघन गर्दै खरिदकर्ताबाट रकम लिने र बिक्रीकर्तालाई रकम दिने कार्य गरिएको उल्लेख छ।
कम्पनीले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ अनुसार आवश्यक न्यूनतम २५ प्रतिशत अग्रिम रकम नलिई लगानीकर्तालाई सेयर खरिद सुविधा दिएको पनि पाइएको छ।
मिति २०२६ मार्च २६ सम्मको विवरणअनुसार कम्पनीले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम करिब ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको बोर्डले जनाएको छ। उधारोमा सेयर खरिद गराउने तथा रकम नै नतिरी हितग्राही खातामा सेयर जम्मा गरिदिने कार्यले पूँजी बजारमा नकारात्मक प्रभाव पार्न सक्ने र लगानीकर्तालाई नोक्सानी हुने जोखिम देखिएको बोर्डको निष्कर्ष छ।
यसै आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८८ तथा नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम ३० अनुसार कम्पनीको दलाल सेवा सञ्चालन अनुमतिपत्र निलम्बन गरिएको हो।












प्रतिक्रिया दिनुहोस्