काठमाडौं । नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया दिएको छ ।
विशेषगरी पूँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पूँजी बजार सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
“यस वर्षको बजेटले नेपालको पूँजी बजारलाई केवल शेयर कारोबारको माध्यमका रूपमा होइन, राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गरेको देखिन्छ” उनले भने “सरकारले पूँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक वित्तीय उपकरण, लगानीकर्ता संरक्षण तथा बजार विस्तारलाई जोड दिनु अत्यन्त सकारात्मक विषय हो।”
बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको छ। अध्यक्ष सागर ढकालले यी व्यवस्थाले नेपाली पूँजी बजारलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले भने “इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उपकरणको सुरुवातले बजारमा तरलता बढाउनुका साथै संस्थागत लगानी र बजारको प्रभावकारिता समेत वृद्धि गर्नेछ। यसले नेपाली पूँजी बजारलाई थप परिपक्व, विश्वसनीय र प्रतिस्पर्धी बनाउने अपेक्षा गरेका छौँ।”
बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरिएको विषयलाई पनि अध्यक्ष ढकालले अत्यन्त महत्वपूर्ण कदमका रूपमा लिए ।
उनले भने, “विश्वभर रहेका नेपालीहरूको पूँजी, अनुभव र विश्वासलाई नेपालको पूँजी बजारमा आकर्षित गर्न सके बजारको आकार, गहिराइ र स्थायित्व उल्लेखनीय रूपमा बढ्नेछ। गैरआवासीय नेपालीको सहभागिताले दीर्घकालीन लगानी संस्कृतिलाई मजबुत बनाउनेछ।”
त्यसैगरी सूचीकृत कम्पनीको शेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने निर्णयले लगानीकर्तामा रहेको करसम्बन्धी अन्योल हट्ने अध्यक्ष ढकालको भनाइ छ।
उनले सरकारद्वारा इनसाइडर ट्रेडिङ तथा शेयर कर्नरिङविरुद्ध लिइएको शून्य सहनशीलताको नीतिलाई पनि स्वागत गरे ।
उनले भने “बजारको विश्वसनीयता कायम राख्न पारदर्शिता, सुशासन र नियामकीय क्षमता अत्यन्त आवश्यक हुन्छ। सरकारले अनियमित गतिविधिविरुद्ध कडा नीति लिएको विषयले वास्तविक लगानीकर्तामा विश्वास अझ बढाउनेछ।”
महासंघको कार्यकारिणी समिति सदस्यसमेत रहेका अध्यक्ष ढकालले निजी क्षेत्र, सरकार र नियामक निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
उनले भने, “अबको मुख्य आवश्यकता भनेको बजेट घोषणाको प्रभावकारी कार्यान्वयन हो। पूँजी बजार, बैंकिङ क्षेत्र, निजी क्षेत्र र सरकारबीच समन्वयात्मक सहकार्य भयो भने नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन पूँजी बजारले निर्णायक भूमिका खेल्न सक्छ।”
स्टक ब्रोकर समुदायले बजेटले नेपालको पूँजी बजारलाई आधुनिक, डिजिटल, पारदर्शी तथा लगानीमैत्री दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेको छ।












प्रतिक्रिया दिनुहोस्