काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि जगदीश खरेलले उम्मेदवारी दिएका छन् ।
झण्डै अढाइ दशक लामो पत्रकारिता अनुभव बोकेका खरेल सञ्चार क्षेत्र हुँदै राजनीतिमा सक्रिय भएका व्यक्ति हुन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारमा सञ्चार मन्त्री तथा सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका खरेलले सरकारमा रहँदा निर्वाचन सफल बनाउन समन्वयकारी भूमिका निर्वाह गरेका थिए । ललितपुर–२ बाट निर्वाचित खरेल स्पष्टवक्ता, अध्ययनशील व्यक्तिका रूपमा परिचित छन् ।
महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरूले आफू जिम्मेवारीमा आउनुपर्ने आग्रह गरेपछि उम्मेदवारी दिने निर्णयमा पुगेको खरेलको दाबी छ । उनले आफ्नो क्षमता र भूमिकाको मूल्यांकन प्रतिनिधिहरूले गर्ने विषय भएको उल्लेख गर्दै विगतका जिम्मेवारीहरू सबैसामु छर्लङ्ग रहेको बताए ।
“मैले पत्रकारिता गर्दा कसरी भूमिका निभाएँ, सञ्चारमन्त्री हुँदा निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व कसरी पूरा गरेँ, त्यो सबैसामू छर्लङ्ग छ,” खरेलले भने ।
उनले संसदमार्फत जनताको आवाज सरकारसम्म पुर्याउन पनि आफूले कुनै कसर बाँकी नराखेको बताए । पार्टीको जिम्मेवारी प्राप्त भए त्यसलाई पनि प्रभावकारी रूपमा निर्वाह गर्ने दृढ संकल्पका साथ आफू अघि बढेको उनको भनाइ छ ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै पार्टीभित्र अनुभव, क्षमता र वैचारिक योगदान भएका व्यक्तिहरूको प्रतिनिधित्वलाई लिएर बहस भइरहेको अवस्थामा खरेलको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।









प्रतिक्रिया दिनुहोस्