काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य घटेको छ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक १.२० अंक घटेर २६८४.३३ विन्दुमा झरेको छ।
आज सेयर बजार घटेको भएता पनि कारोबार रकम भने बढेको छ। गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो भने बाँकी उपसमूहहरुको परिसूचक सामान्य घटेको हो।
यसैगरी, आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा साेमबार रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, साेमबार रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।





प्रतिक्रिया दिनुहोस्