काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन ठेक्कासम्बन्धी प्रकरणमा १ करोड ४१ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७६–७७ मा वडा नं.१ र २ अन्तर्गत राप्ती नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि सगुन कन्स्ट्रक्सनसँग करिब २ करोड ८२ लाख ९७ हजार रुपैयाँ (मूल्य अभिवृद्धि कर बाहेक) मा ठेक्का सम्झौता गरिएको थियो। तर, उत्खनन कार्यको स्थलगत निरीक्षण, नापजाँच तथा प्राविधिक प्रतिवेदनबिनै ठेकेदारसँग मिलेमतो गरी दोस्रो किस्ताको बैंक जमानतबापत १ करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व मिनाहा गरिएको आयोगको आरोप छ।
आयोगले तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक शहदेव खड्का तथा कम्पनीका प्रतिनिधि विकास पुनको मिलेमतोमा प्रदेश सरकार र गाउँपालिकाले पाउनुपर्ने राजस्व रकममा हानि पुर्याइएको जनाएको छ।
आयोगका अनुसार प्रतिवादीहरूले प्रचलित कानुन तथा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि विपरीत गाउँसभाबाट राजस्व छुट दिने निर्णय गराई ठेकेदारलाई गैरकानुनी लाभ पुर्याएको र त्यसबाट सार्वजनिक सम्पत्तिमा क्षति पुगेको पुष्टि भएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको भन्दै पाँचै जनाविरुद्ध १ करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद, दोब्बर जरिवाना तथा कानुनबमोजिम थप सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्