काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारमा गुणात्मक विकास गर्ने उद्देश्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा उल्लेख गरिएका नियामकीय सुधारका कार्यलाई अगाडि बढाउने क्रममा बोर्डले प्राथमिक सार्वजनिक निष्काशन व्यवस्थामा गुणस्तरीय सुधारका लागि दीर्घकालीन लक्ष्यसहित श्वेतपत्र सार्वजनिक गरेको हो।
बोर्डका अनुसार श्वेतपत्रले नेपालको प्राथमिक पूँजी बजारको विद्यमान अवस्था, कानुनी तथा संस्थागत सीमाहरू, बजारमा देखिएका समस्या तथा चुनौती र आगामी दशकमा आवश्यक पर्ने रणनीतिक सुधारका दिशालाई समेटेको छ।
प्राथमिक बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय असल अभ्यासअनुकूल बनाउने उद्देश्यले श्वेतपत्रमा नीतिगत, कानुनी, संस्थागत र कार्यान्वयनसम्बन्धी एकीकृत रूपरेखा प्रस्तुत गरिएको छ।
बोर्डले प्राथमिक पूँजी बजारको दीर्घकालीन विकासका लागि तीन चरणमा सुधारको कार्ययोजना अघि सारेको छ।
एक वर्षभित्र नीतिगत तथा कानुनी सुधार गर्ने लक्ष्य राखिएको छ। यस चरणमा सम्बन्धित ऐन तथा नियमावली संशोधन, बुक बिल्डिङ प्रणालीको समीक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, एकदेखि दुई वर्षभित्र प्राथमिक बजारको संस्थागत तथा प्रविधिगत क्षमता सुदृढ गर्ने योजना छ। यसअन्तर्गत डिजिटल आईपीओ प्लेटफर्म, विद्युतीय ग्राहक पहिचान अर्थात् ई–केवाईसी तथा सुपटेक जस्ता प्रविधिको प्रयोग र विकासलाई अघि बढाइनेछ।
दुईदेखि पाँच वर्षभित्र प्राथमिक बजारलाई थप उन्नत र बजारमुखी बनाउने लक्ष्य राखिएको छ। यस चरणमा पूर्ण रूपमा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्ने तथा योग्य संस्थागत लगानीकर्ता र एंकर लगानीकर्ताको प्रवेशलाई सहज बनाउने योजना अघि सारिएको छ।
यसले हालको प्राथमिक निष्काशन प्रणालीलाई क्रमशः बढी बजारमुखी, प्रतिस्पर्धी र संस्थागत बनाउने अपेक्षा गरिएको छ। बोर्डले सार्वजनिक गरेको श्वेतपत्र प्राथमिक सेयर निष्काशन अर्थात् आईपीओ प्रणालीको सुधारमा मात्र सीमित नरहेको जनाएको छ।
श्वेतपत्रमा नेपालको प्राथमिक पूँजी बजारको हालसम्मको नियमन, वर्तमान अवस्था, समस्या तथा चुनौती, सम्भावित समाधान, आगामी रणनीति र अन्तर्राष्ट्रिय अभ्यास तथा अनुभवसमेत समेटिएको छ।
बोर्डले प्राथमिक बजारलाई नेपालको राष्ट्रिय पूँजी निर्माण र निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकासको महत्वपूर्ण आधार का रूपमा विकास गर्ने दृष्टिकोण अघि सारेको छ।
बोर्डका अनुसार प्राथमिक बजारबाट दीर्घकालीन पूँजी परिचालन बढाउन सके त्यसले निजी क्षेत्रको विस्तार, उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि तथा समग्र आर्थिक विकासमा योगदान पुर्याउन सक्छ।
श्वेतपत्रले प्राथमिक बजारमा संलग्न विभिन्न संस्थाको जिम्मेवारीलाई थप स्पष्ट र प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकतामा राखेको छ।
विशेषगरी निष्काशन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक तथा क्रेडिट रेटिङ संस्थाहरूको ‘ड्यु डिलिजेन्स’ (Due Diligence) सम्बन्धी दायित्वलाई स्पष्ट गर्दै उनीहरूलाई थप उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
प्राथमिक सार्वजनिक निष्काशनमा कम्पनीको वित्तीय अवस्था, व्यवसायिक सम्भावना, जोखिम तथा अन्य महत्वपूर्ण विवरणको यथार्थ परीक्षण र लगानीकर्तासमक्ष विश्वसनीय सूचना प्रवाह महत्वपूर्ण हुने भएकाले सम्बन्धित संस्थाको जिम्मेवारी थप स्पष्ट बनाउने व्यवस्था अघि सारिएको हो।
यसबाट प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रको गुणस्तर तथा लगानीकर्ताले प्राप्त गर्ने सूचनाको विश्वसनीयता बढ्ने बोर्डको अपेक्षा छ।
प्राथमिक बजार सुधारका लागि बोर्डले प्रविधिको प्रयोगलाई समेत महत्वपूर्ण आधार बनाएको छ।
डिजिटल आईपीओ प्लेटफर्मको विकास, ई–केवाईसीको प्रयोग तथा नियामकीय प्रविधि (RegTech) र सुपटेक (SupTech) को प्रयोगमार्फत प्राथमिक बजारको प्रक्रिया थप सरल, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य श्वेतपत्रले लिएको छ।
प्रविधिको प्रयोग बढेसँगै निष्काशन प्रक्रियामा लाग्ने समय र लागत घटाउनुका साथै लगानीकर्ताको पहुँच विस्तार गर्न सकिने बोर्डको विश्वास छ। यसले प्राथमिक बजारमा हुने आवेदन, प्रमाणीकरण, निष्काशन तथा नियामकीय अनुगमनलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
श्वेतपत्रले बुक बिल्डिङ प्रणालीको समेत समीक्षा गर्ने विषय अघि सारेको छ। नेपालको प्राथमिक बजारमा कम्पनीको सेयर मूल्य निर्धारणलाई थप वैज्ञानिक, पारदर्शी र बजारमा आधारित बनाउन बुक बिल्डिङलगायतका प्रणालीको प्रभावकारिता पुनरावलोकन गर्नुपर्ने आवश्यकता बोर्डले औंल्याएको छ।
दीर्घकालीन रूपमा प्राथमिक बजारमा पूर्ण बजारआधारित मूल्य निर्धारण प्रणाली विकास गर्ने लक्ष्यसमेत श्वेतपत्रमा राखिएको छ। यसका लागि बजारको गहिराइ, संस्थागत लगानीकर्ताको सहभागिता तथा नियामकीय क्षमता विस्तारलाई महत्वपूर्ण पूर्वसर्तका रूपमा हेरिएको छ।
संस्थागत लगानीकर्ताको सहभागिता बढेमा प्राथमिक निष्काशनमा मूल्य निर्धारण, मागको पहिचान तथा लगानीकर्ताको संरचनामा थप व्यावसायिकता आउने अपेक्षा गरिएको छ।
यसले प्राथमिक बजारलाई खुद्रा लगानीकर्तामा मात्र निर्भर रहने अवस्थाबाट क्रमशः विविध र संस्थागत लगानीकर्ताको सहभागितासहितको बजारका रूपमा विकास गर्न सहयोग गर्ने बोर्डको दृष्टिकोण छ।
श्वेतपत्रले प्राथमिक बजारमा लगानीकर्ताको सहभागिता तथा वित्तीय साक्षरता अभिवृद्धिलाई समेत महत्व दिएको छ।
प्राथमिक बजारका विभिन्न उपकरण तथा लगानीका अवसरबारे लगानीकर्तालाई पर्याप्त जानकारी उपलब्ध गराउने, बजारप्रति विश्वास बढाउने तथा नयाँ वित्तीय उपकरणको विकास गर्ने दिशामा समेत श्वेतपत्रले मार्गदर्शन गर्ने बोर्डको विश्वास छ।
प्राथमिक बजारमा गुणात्मक सुधार भएपछि लगानीकर्ताले निष्काशन हुने धितोपत्रबारे थप विश्वसनीय सूचना प्राप्त गर्न सक्ने तथा बजारमा सहभागी हुने निर्णय थप सूचनामूलक बन्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्