काठमाडौं । त्रिशूली नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाबाट चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गर्ने त्रिशूली नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएको जनाउँदै धादिङ प्रशासनले नदीको बहाव बढ्न सक्ने र विपद्को जोखिम हुनसक्ने जनाएको हो ।
प्रशासनले त्रिशूली नदीमा माछा मार्ने, पौडी खेल्ने, बालुवा–गिट्टी संकलन गर्ने तथा अन्य कामका लागि नदी तथा खोला आसपास जाने व्यक्तिहरूलाई तत्काल नजान आग्रह गरेको छ । नदी आसपास गइसकेका व्यक्ति तथा मजदुरहरूलाई समेत सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
यस्तै, त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरू र नदी किनारमा रहेका कार्यालयहरूलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
नदीको बहाव बढेर बाढीको जोखिम हुनसक्ने भएकाले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन प्रशासनले अनुरोध गरेको हो ।
कुनै विपद्जन्य घटना भएमा तत्काल स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउनसमेत प्रशासनले आग्रह गरेको छ ।
आपतकालीन अवस्थामा नेपाल प्रहरीको हटलाइन १००, सशस्त्र प्रहरी बल नेपालको १११४ तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ ।







प्रतिक्रिया दिनुहोस्