Skip to content

मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च, करिडोर हुँदै यात्रा गर्नेलाई सावधानी अपनाउन आग्रह

काठमाडौ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ ।

धादिङको मलेखुस्थित त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल विज्ञान तथा अनुसन्धान केन्द्र,जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाका प्रमुख विनोद पराजुलीका अनुसार मलेखुस्थित त्रिशूलीमा पानीको सतह अहिले १०.४८ मिटर पुगेको छ । उक्त स्थानमा आठ मिटर पानीको सतह पुगेपछि खतरा तह मानिन्छ ।

भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र निरन्तर बढिरहेको शाखाले जनाएको छ ।

जलसतह बढिरहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा त्रिशूली करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ ।

नदी आसपासका बासिन्दाले नदीको बहाव बढ्दै गएको अवस्थामा सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ ।

वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले रसुवा तथा नुवाकोट आसपासमा आज दिउँसोदेखि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

रसुवाको भोटेकोशी हुँदै नुवाकोट, हाल धादिङसम्म प्रवेश गरिसकेको बाढीको विपद्मा परेका सर्वसाधरणको खोज तथा उद्धारमा समस्या आउन सक्ने विभागले जानकारी दिएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले रसुवा तथा नुवाकोट जिल्ला आसपासमा वर्षाको सम्भावना रहेको जानकारी दिँदै उच्च सतर्कता अपनाउन आग्ह गर्नुभएको छ ।

“यी जिल्ला मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले भोटेकोशी बाढीमा पर्ने सर्वसाधरणको उद्धारका लागि समस्या आउनसक्छ ”, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T