काठमाडौं । भोटेकोशीमा ठूलो बाढी आउनुअघि चीनको तिब्बतमा भूकम्प गएको र त्यसको २३ मिनेटमै नदी थुनिएर बनेको ताल फुटेको पाइएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत बाढी पूर्वानुमान महाशाखाको प्रतिवेदनअनुसार ताल फुटेको जानकारी जिल्ला प्रशासन कार्यालय, रसुवा र बेत्रावतीस्थित जलमापन केन्द्रका कर्मचारीमार्फत प्राप्त भएको थियो ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले तयार पारेको प्राविधिक प्रतिवेदनले भदौ १० गते आएको भोटेकोशी–त्रिशूली–नारायणी बाढीको घटनाक्रम सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको करिब २३ मिनेटपछि अर्थात् बिहान ९ बजे चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेको सूचना नेपालमा प्राप्त भएको थियो । ताल फुटेपछि आएको ठूलो बाढी भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको थियो ।
बाढी भोटेकोशीबाट तलतर्फ बग्दै त्रिशूली नदीमा मिसिएको थियो। त्यसपछि बाढी धादिङ, नुवाकोट, चितवन हुँदै नारायणी नदीको देवघाटसम्म पुगेको थियो। बाढी आउनुअघि नै भोटेकोशीको स्याफ्रुबेँसीस्थित जलमापन केन्द्रमा बिहान ८ः५० बजे पानीको सतहसम्बन्धी तथ्यांक आउन बन्द भएको महाशांखाले जानकारी दिएको छ । तथ्यांक आउन बन्द हुँदा त्यहाँ पानीको सतह १.६२ मिटरमात्र रहेको थियो ।
बाढीको सम्भावित जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले बिहान ९ः१५ देखि ९ः१६ बजेसम्म रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचना दिएको थियो । त्यसको केही समयपछि बिहान ९ः२० बजे बेत्रावतीको जलमापन केन्द्रबाट पनि तथ्यांक आउन बन्द भएको थियो । त्यतिबेला पानीको सतह ३.५५ मिटर थियो।
बाढी क्रमशः तलतर्फ फैलिँदै बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास पुगेको थियो। त्यसपछि दिउँसो ११ः२६ देखि ११ः४३ बजेसम्म मलेखुको फुर्के क्षेत्रमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको थियो ।
दिउँसो १ बजे बाढी मुग्लिन पार गरेको थियो। त्यसपछि दिउँसो २ः१४ बजे कालीखोलाको जलमापन केन्द्रमा पानीको सतह खतराको तह १२.१ मिटरभन्दा माथि पुगेर १२.३ मिटर पुगेको थियो।
बाढी दिउँसो ३ः२० देखि ४ बजेको बीचमा देवघाट पुगेको थियो। साँझ ४ बजे देवघाटमा पानीको सतह सबैभन्दा बढी ६.५७ मिटर पुगेको थियो। त्यतिबेला नारायणी नदीमा प्रतिसेकेन्ड करिब ५ हजार ८५० घनमिटर पानी बगेको थियो। त्यसपछि पानीको सतह घट्न थालेको थियो। साँझ ६ः३० बजेसम्म देवघाटमा पानीको सतह करिब ४ मिटरमा झरेर सामान्य अवस्थामा फर्किएको प्रतिवेदनमा उल्लेख छ ।
बाढी अत्यन्त तीव्र भएका कारण रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुका जलमापन केन्द्रबाट तथ्यांक प्राप्त हुन नसकेको प्राधिकरणले जनाएको छ । तीमध्ये केही केन्द्र बाढीले क्षति पुर्याएकाे वा बगाएको छ । यस्तो अवस्थामा देवघाटमा पुगेको पानीको मात्राका आधारमा बाढीको अवस्था अध्ययन गरिएको छ । प्रतिवेदनअनुसार देवघाटबाट कुल ५ करोड ७४ लाख घनमिटर पानी बगेको थियो । सामान्य अवस्थामा नदीमा बग्ने पानीलाई हटाएर हेर्दा बाढीका कारण थपिएको पानीको मात्रा करिब १ करोड ९९ लाख ६० हजार घनमिटर रहेको अनुमान गरिएको छ।
तिब्बत–नेपाल सीमादेखि देवघाटसम्म नदीको दूरी करिब १६८ किलोमिटर रहेको प्राधिकरणले जनाएको छ । उक्त समयमा प्राधिकरणले बाढीको जोखिमबारे सर्वसाधारणलाई जानकारी दिन ठूलो संख्यामा मोबाइल सन्देश पठाइएको जानकारी दिएको छ ।
बाढीको मुख्य बहाव घटिसके पनि जोखिम भने पूर्णरूपमा हटिसकेको नसकेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार चीनतर्फ नदी थुनिएर बनेको ताल अझै पूर्णरूपमा खाली नभइसकेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा फेरि बाढी आउन सक्ने सम्भावना रहेको प्रतिवेदनले जनाएको छ ।
चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम देखिए पनि नदी किनारका तल्लो तथा होचा क्षेत्रमा जोखिम अझै कायम रहेको जनाइएको छ। त्यसैले नदी किनारमा बस्ने मानिसलाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित अग्लो स्थानमा जान आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्