काठमाडौं । सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।
गत बुधबार रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ ।
विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भनेर विशेष सुविधा ल्याएको जनाएको छ ।
खाडी मुलुकका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमान लगायातबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलाग्ने भएको छ ।
त्यसैगरी एसिया–प्रशान्त क्षेत्रका जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट पनि नि:शुल्क रेमिट्यान्स सेवा उपलब्ध हुनेछ ।
युरोपका बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्समा रहेका नेपालीले समेत यो सुविधाको लाभ लिन सक्नेछन् । ओसनिया क्षेत्रमा रहेको न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क लाग्ने छैन ।
विश्वभर फैलिएका सिटी एक्सप्रेस तथा यसका अन्य अन्तर्राष्ट्रिय च्यानलमार्फत पनि यो निस्शुल्क सुविधा लागू गरिएको छ ।
यसबाट धेरै मुलुकमा रहेका नेपालीले नेपालमा रहेका आफ्ना परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको छ ।
यो सुविधा तत्काल प्रभावकारी रूपमा लागू गरिएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीलाई विपद्को यस कठिन समयमा आफ्ना परिवार र प्रभावित समुदायलाई सहयोग गर्न उक्त सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ ।






प्रतिक्रिया दिनुहोस्