काठमाडौं । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो । हिमालयन र लक्ष्मी बैंकमा थप रु २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको छ ।
विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्