काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ।
प्रभावित क्षेत्रमा बहुआयामिक समस्या समाधान तथा सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट ठूलो संख्यामा प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ।
परिचालन भएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना छन्। यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र प्रयुताके जर्गाहबाट २२२ जना प्रहरी परिचालन भएका छन्।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र स्थापना गरिएको छ। यस्तै, विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्यांक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरिएको प्रहरीले जनाएको छ।
अस्पताल र विमानस्थलमा फोकल डेस्क
बाढीका कारण घाइते भएकाको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न प्रहरीले विभिन्न अस्पताल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोकल डेस्क स्थापना गरेको छ।
वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा ५ तथा त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेको लगत तयार पार्न एसपीको नेतृत्वमा ८ जना प्रहरी खटिएका छन्।
ड्रोन र तालिमप्राप्त कुकुरबाट खोजी
बाढीग्रस्त क्षेत्रमा खोजी तथा अनुसन्धानलाई तीव्र बनाउन प्रहरीले प्रविधिको प्रयोगसमेत बढाएको छ। रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरिएको छ। पैदल गस्ती कठिन हुने दुर्गम क्षेत्रमा ड्रोनमार्फत निगरानी तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।
खोजी कार्यका लागि ५ वटा तालिमप्राप्त कुकुर तथा सञ्चार सम्पर्क कठिन भएका क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।
घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन्। शवको वैज्ञानिक पहिचानका लागि डीएनए परीक्षणलगायत फरेन्सिक अनुसन्धानमा विज्ञ टोलीसमेत परिचालन गरिएको छ। घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली प्रभावित क्षेत्रमा खटाइएको प्रहरीले जनाएको छ।
विपद्को मौका छोपेर चोरी तथा ठगी गर्ने पक्राउ
बाढीपछि चोरी, लुटपाट तथा ठगीजस्ता गतिविधि हुन नदिन प्रहरीले सुरक्षा निगरानी बढाएको छ। यस क्रममा विभिन्न जिल्लामा विपद्को मौका छोपेर आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।
नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले अनुसन्धान गरी मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ।
त्यस्तै, धादिङको गल्छी–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर नगद हिनामिना गरेको आरोपमा २९ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर फेसबुकमार्फत रकम असुल गर्न खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२ ठोसे बजारका ३२ वर्षीय सृजन कार्की पनि पक्राउ परेका छन्।
यसैगरी, धादिङको गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा एउटा सेफ फेला परेको छ। १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ। परेवाटार–मलेखु त्रिशूली नदीको बगरमा अर्को सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको थप एउटा सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
नारायणी आसपास ७५७ प्रहरी परिचालन
बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ झर्ने क्रमलाई मध्यनजर गर्दै प्रहरीले सम्भावित जोखिम न्यूनीकरणमा विशेष ध्यान दिएको छ। चितवनको नारायणी नदी आसपास मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ।
भौतिक अवरोध हटाउने, फेला परेका सामग्री व्यवस्थापन गर्ने तथा प्रभावित नागरिकको उद्धार र राहत वितरणमा सहजीकरण गर्ने काममा पनि प्रहरी सक्रिय रहेको छ।
नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको जनाएको छ। साथै, प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन आग्रह गर्दै सम्भावित जोखिमबारे सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्