काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदीमाथि निर्माण गरिएका पक्की तथा झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आपत्कालीन वारपारका लागि नुवाकोटको विदुर नगरपालिका–१ इन्द्रायणीचौरबाट गुम्बा जोड्ने तुइन निर्माण सुरु गरिएको छ ।
त्रिशूली नदी पार गर्ने पुलहरू बाढीले बगाएपछि विशेषगरी त्रिशूली अस्पतालमा औषधि तथा अन्य अत्यावश्यक सामग्री पुर्याउन समस्या भएपछि पूर्वाधार विकास कार्यालयमार्फत तुइन निर्माण थालिएको हो । निर्माणाधीन तुइन भोलिसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

बाढीका कारण नदी वारपारको नियमित आवागमन अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गर्न तुइन निर्माण गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार इन्द्रायणीचौर–गुम्बा जोड्ने स्थानसहित जिल्लाका पाँच स्थानमा तुइन जडान गरिनेछ ।
पुलहरू क्षतिग्रस्त भएपछि स्थानीयवासीको दैनिक आवतजावतसँगै स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि आवश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ । तुइन सञ्चालनमा आएपछि तत्कालका लागि नदी वारपारमा सहजता आउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्