काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सामूहिक रूपमा जम्मा गर्ने निर्णय गरेका छन् । कर्मचारीबाट करिब ११ लाख रुपैयाँ योगदान हुने कम्पनीले जनाएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
कम्पनीले बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गर्न लागेको जनाएको छ। कम्पनीले प्राकृतिक विपद् तथा विभिन्न संकटका समयमा स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको दाबी गरेको छ ।
साथै, कम्पनीले बाढी प्रभावित परिवारको सुरक्षित उद्धार तथा घरबारविहीन परिवारको यथाशीघ्र पुनःस्थापना आवश्यक रहेको जनाएको छ। बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ ।







प्रतिक्रिया दिनुहोस्