काठमाडौं । भोटेकोशीमा आएको बाढीले सडक र पुलमा क्षति पुर्याएपछि ४ वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार रसुवा–नुवाकोट–धादिङ जोड्ने प्रयास तीव्र रुपमा भइरहेको छ ।
यस्तै त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीमाथिका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध भएको यातायात सञ्चालनमा ल्याउन वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नतिको काम तीव्र पारिएको छ ।
बाढीपछि सडक तथा पुलमा भएको क्षतिका कारण प्रभावित क्षेत्रमा यातायात सहज बनाउन सडक डिभिजन नुवाकोटले विभिन्न स्थानमा वैकल्पिक सडक सञ्चालनमा ल्याएको जनाएको छ ।
रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थालाई ध्यानमा राख्दै सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्ने लगायतका काम निरन्तर गरिरहेको जनाएको छ । हालसम्म चार वटा वैकल्पिक सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन नुवाकोटले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मास्टारबाट त्रिशूली पुल पार हुँदै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसीसम्म करिब १५ किलोमिटर वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ ।
यस मार्गले विशेषगरी धादिङको गल्छी र सिद्धलेक क्षेत्रका प्रभावित बासिन्दालाई आवतजावतमा सहज बनाउने अपेक्षा गरिएको छ। त्रिशूली नदीपारिको भूभागलाई यातायात सञ्जालसँग जोड्न करिब ४० किलोमिटर लामो वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
गल्छीस्थित गल्छी–त्रिशूली राजमार्गबाट त्रिशूली पुल पार गरी नदीको दायाँ किनारतर्फ कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको हो ।
यस वैकल्पिक मार्गबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र प्रभावित भएका छन् । यस्तै देवीघाटस्थित तादी खोला पुल क्षतिग्रस्त भएपछि त्यसको विकल्पका रूपमा करिब ३५ किलोमिटर सडक सञ्चालनमा ल्याइएको छ ।
पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजनले जनाएको छ । यस मार्गले नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रका बासिन्दालाई आवतजावतमा वैकल्पिक पहुँच उपलब्ध गराएको छ।
त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा क्षति पुगेपछि रसुवा जिल्लामा यातायात पहुँच कायम गर्न अर्को वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरेबाट फेदी, बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानोखोला, धनस्वारा, भोर्ले, जिबजिबे हुँदै बोगटीटारसम्म नुवाकोट खण्डको करिब १२ किलोमिटर सडकलाई सञ्चालनयोग्य बनाइएको हो ।
यो वैकल्पिक मार्गले मुख्यतः नुवाकोटको विदुर र सूर्यगढी क्षेत्रलाई जोड्नेछ । सडक डिभिजन नुवाकोटले बाढीपछि उत्पन्न आपतकालीन अवस्थालाई मध्यनजर गर्दै विभिन्न उपकरण परिचालन गरी सडक खुलाउने तथा यातायात सञ्चालनयोग्य बनाउने कामलाई निरन्तरता दिएको छ।
डिभिजनका अनुसार पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने र ग्राभेल राख्ने लगायतका काम भइरहेको छ ।
त्रिशूली नदीमा आएको बाढीका कारण मुख्य सडक र पुलमा क्षति पुगेपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रको नियमित यातायात प्रभावित भएको अवस्थामा वैकल्पिक सडक सञ्चालनले स्थानीय तथा अत्यावश्यक आवतजावतलाई केही सहज बनाउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्