काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज १२ गते, सोमबार, आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
बैंकको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसैगरी, बैंकको साधारण सभाले अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा समानुपातिक रूपमा करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित हुने छ ।
यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






प्रतिक्रिया दिनुहोस्